माधव नेपाल पक्षले स्पष्टिकरण नदिने : ओलीले थाले कारबाहीको तयारी

वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । एमाले स्थायी समिति बैठकले शुक्रबार प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावीमा हस्ताक्षर गरेको भन्दै नेता नेपालसहित उनी पक्षका ११ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

नेता भीम रावलले स्पष्टीकरणको जवाफ दिन जरुरी नभएकाले आफ्नो समूह नदिने निष्कर्षमा पुगेको बताए । ओली आफै अवैधानिक भैसकेकोले उनले सोधेको स्पष्टीकरणको कुनै अर्थसमेत नभएकाले जवाफ दिन जरुरी नठानेको रावलको भनाइ छ ।

‘पार्टी एकताको कुरा भइरहेका बेलामा संविधानको धारा ४ पनि उल्लंघन गर्ने, ५ पनि उल्लंघन गर्ने, प्रतिनिधिसभा विघटन गर्ने र हामीलाई फेरि स्पष्टीकरण सोध्ने केपी ओलीको यो निरंकुश स्वेच्छाचारी, पार्टी विधान र कानुन विपरितको कामलाई पूर्णरुपमा हामी अस्वीकार गर्छौ’, नेता रावलले ओलीमाथि प्रश्न गरे, ‘के यो एमाले पार्टी ओलीको आफ्नो कम्पनी हो ? बपौती हो ?’

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका छन् । अपरान्ह ४ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिए । बैठकबाट माधव नेपाल समूहलाई कारबाहीको तयारी भएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेपाल समूहले आजसम्मको लागि जवाफ बुझाउने समय पाएपनि जवाफ बुझाएको छैन । बरु माधव समूह विपक्षी गठबन्धनसँग मिलेर सर्वोच्च जान लागेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..