अस्ति रअका हाकिम र भारतीय राजदुत भेटेका ठाकुरले मध्यरातमा ओलीको पक्षमा विज्ञप्ति निकालेपछि

जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन् । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए । महन्थ ठाकुरमा एकाएक यो परिवर्तन आएको भने हैन । सत्ता राजनीतिमा एकाएक निर्णायक बनेर उदाएको जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित हुँदा राजनीतिको केन्द्रीय भूमिकाबाट पाखा लागेको छ । एमालेकै माधव नेपाल समूह निर्णायक बनेर आएपछि आफूहरु पाखा लाग्नुपरेको यो पक्षको विश्लेषण छ ।

यस्तो विश्लेषण जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले अस्ति नेपाल आएका रअ प्रमुख राघव पी.भटनागर र राजदूत बिनयमोहन क्वात्रालाई सुनाएका हुन् । दूतहरुलाई भेट्न अस्ति अपरान्ह पौने पाँच बजे अलगअलग लैनचौरस्थित भारतीय दूतावास पुगेका उनीहरुले ओली सरकार थाम्न अन्तिमसम्म प्रयास गरेको तर नेपाल समूहका कारण सफल नभएको रिपोर्टिंग सुनाएको स्रोतको दाबी भएको जनआस्थाले उल्लेख गरेको थियो । फरक-फरक समयमा दूतावास छिरेका ठाकुर र महतो डेढ घण्टा बसेर सँगैजसो बाहिरिएका थिए ।

आन्दोलनको क्रममा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै राति आह्वान गरिसकेकी छन्। दुई वा दुईभन्दा बढी दल मिलेर अब यही वैशाख ३० गतेभित्र बहुमत पुर्‍याई नयाँ सरकार गठन गर्नुपर्नेछ।

यसका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई–यादव पक्ष) ले तयारी गरिरहेका बेला जसपाकै अध्यक्ष ठाकुरले भने सोमबार मध्यराति विज्ञप्ति जारी त्यसको विरोध गरेका हुन्। सोमबार दिउँसो संसदमा पनि जसपाकै डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए।

जसपामा भट्टराई–यादव ओलीको तीव्र विरोधमा छन् भने ठाकुर समर्थनमा छन्। जारी विज्ञप्तिमा पनि ठाकुरले पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने जिकिर गरेका छन्। आफ्ना पार्टीले उठाएका मुद्दाबारे उनीसँग भएका वार्ता सकारात्मक तथा कार्य-प्रगतिसमेत भइरहेकाले आफू अर्काे सरकारका पक्षमा नरहेको ठाकुरले उल्लेख गरेका छन्।

ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो, मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ। त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..