मर्स्याङ्दी नदी थुनियो : हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी

चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ। वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

उनले भने, ‘अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।’ चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो। माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मस्र्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ। थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ।

यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ। सिङ्गो चामेबजार जोखिममा परेको छ। बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ। नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ। प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ। उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताए।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले बताए। लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए। त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले जानकारी दिए।

मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन् । हालसम्म पनि वर्षा र जोखिम कायम रहेपछि मनाङेहरु लमजुङ, काठमाडौँ, पोखरातर्फ आउन थालेका हुन् । नासो गाउँपालिका–८ ताचे ओडारका ३५ वर्षीय विष्णु घले, ३२ वर्षीय चन्द्रकाशी गुरुङ, ३१ वर्षीय सञ्जय गुरुङ, १४ वर्षीय सविना गुरुङ र सोही हेलिकप्टरमा गोरखा सिरनचोकका २२ वर्षीय पुकार गुरुङ आज मनाङबाट हेलिकप्टर रिजर्भ गरेर लमजुङ आइपुगेका छन् ।

पुकार गुरुङ भने गत जेठ २६ गते मनाङ ताचे घुम्न गएको र पहिराका कारण रोकिएर बसेका थिए । विष्णु घलेले भने, “मनाङ ताचेबाट हेलिकप्टरमा हामीले प्रतिव्यक्ति रु २० हजारका दरले तिरेर बेँसीशहर आएका हौँ । यसरी आउनु हाम्रो रहर होइन बाध्यता भएको उनको भनाइ छ । घलेले भने, “गाउँभन्दा तल नै सुरक्षित छ, मनाङका गाउँहरुमा वारिपारि पहिरो अझै पनि गइरहेको छ । गाउँमा बिजुली लाइन छैन, वाइफाई छैन, बाटो छैन, मोबाइलमा चार्ज गर्न पाएको छैन यतिबेला त्यहाँ धेरै समस्या रहेको उनीहरुको भनाइ छ ।”

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..