सिमानामा हुने कुनैपनि अतिक्रमण र हस्तक्षेप स्वीकार्य नहुने

कन्चनपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनैपनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताएका छन् ।

Minister bimalendra nidhi

१६ दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गरेका कन्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्दबजारका गोविन्द गौतमका परिवारलाई सरकारले घोषणा गरेको राहत रकम हस्तान्तरण गर्न पुनर्वास आइपुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले राष्ट्रियता, स्वाभिमान र भौगोलिक अखन्डता सरकारको पहिलो प्राथमिकता भएको बताए ।

आन्तरिकरुपमा राजनीतिक दलबीच फरक मत रहे पनि राष्ट्रियता, सीमा संरक्षण, भौगोलिक अखन्डताका विषयमा सबै एकै ठाउँमा रहेका गृहमन्त्री निधिको भनाइ थियो ।

आनन्दबजारमा भएको घटनामा भारतीय सुरक्षाकर्मीकै गोली लागेर गौतमको निधन भएका विषयमा आफूले भारत भ्रमणकाक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग प्रमुख मुद्दा बनाएर विषय उठान गरेको उनले बताए ।

‘मैले भारतीय प्रधानमन्त्रीलगायत सबै अधिकारीसँग तपाइँकै सुरक्षाकर्मीको गोलीबाट गौतमको निधन भएको प्रतिवेदन पेस गरेको छु’–गृहमन्त्री निधिले भने–‘भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

आनन्दबजार क्षेत्रको नेपाल–भारत सीमा छुट्याउने २०० नम्बर सीमास्तम्भ सयौं वर्षदेखि नरहेको बताउँदै उनले सीमांकनका विषयमा नेपाल र भारतको संयुक्त सर्वे टोलीले स्थलगत अनुगमन गरी सीमा समस्या समाधान गर्ने विषय अघि बढेको बताए ।

‘पुरानो सम्बन्ध छ भन्दैमा आफ्नो दोष लुकाएर अर्कालाई दोषी बनाउन पाइँदैन’–निधिले भने–‘राष्ट्रियता, सार्वभौमिकताका लागि कसैसित सम्झौता गरिन्न, ‘तपाइँहरुले गरेको दाबी नै प्रमाणित हुनेमा म विश्वस्त छु ।’

उनले भने–‘स्थलगत सर्वेपछि सीमाको विवाद टुंग्याउने विषयमा भारतले पनि सहमति जनाएको छ ।’

आनन्दबजारमा विवादकाबेला खटिएको नेपाली सुरक्षाकर्मीबाट गोली नचलेको बताउँदै सहिद गौतमलाई लागेको गोली स्तरीय हतियारको रहेको मन्त्री निधिले जानकारी दिए ।

‘शव परीक्षण र विधिविज्ञान प्रयोगशालाको रिपोर्टबाट पनि भारतीय सुरक्षाकर्मीकै गोलीबाट घटना भएको देखिन्छ’–मन्त्री निधिले भने ।

घटनालगत्तै सरकारले गौतमलाई सहिद घोषणा गर्नुका साथै घटनाको तत्काल विरोध गरेको बताउँदै मन्त्री निधिले सहिद परिवारलाई रोजगारी दिने विषयमा पनि सरकारले स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।

नेपाल–भारतको संयुक्तरुपमा गठन भएका तीनओटा सर्वे टोलीले सुस्ता र कालापानीबाहेक सबै नापचाँजमा सम्पूर्ण सर्वे गरिसकेको र धरातलमा छुट्याउन भने बाँकी रहेको उनले बताए ।

‘सीमाको विषय टुंग्याउन थप दुईओटा सर्वे टोली बनाएर काम थाल्ने विषयमा भारतले पनि सहमति जनाएको छ’–निधिले भने–‘संयुक्त टिमको सर्वेपछि सीमा विवाद टुंगिनेमा विश्वस्त छु ।’

कार्यक्रममा गृहमन्त्री निधिले सरकारले घोषणा गरेको राहत रकम रु १० लाखको चेक हस्तान्तरण गर्नुका साथै सहिद गौतमका श्रीमती लक्ष्मी, बुबा खेमलाल र आमा हरिदेवीलाई दोसल्ला ओडाएर सम्मान व्यक्त गरे ।

पुनर्वास पुगेका गृहमन्त्री निधिसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, कृषि विकासमन्त्री गौरीशंकर चौधरी, सांसदहरु नारायण प्रकाश साउद, बहादुरसिंह थापा र दिवानसिंह विष्ट, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायतले सहिद गौतमलाई गोली हानिएको कल्भर्ट निर्माण क्षेत्रकोसमेत निरीक्षण गरे ।

सहिद परिवारलाई कांग्रेसको सात लाख सहयोग 
नेपाली कांग्रेसले सहिद गोविन्द गौतमका परिवारलाई रु सात लाख तथा घटनाका घाइते टीकाराम चापागाइँलाई रु एक लाख प्रदान गरेको छ ।

कांग्रेसको उक्त सहयोग चेक उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सहिदको श्रीमती लक्ष्मी गौतमलाई हस्तान्तरण गरे ।

त्यस्तै, नेपाल विद्यार्थी संघ कैलालीले पनि सहिद गौतम परिवारलाई रु चार लाख तथा घाइते टीकाराम चापागाइँको उपचारका लागि रु एक लाख ३० हजार सहयोग प्रदान गरेको छ ।

घटनाका घाइते चापागाइँलाई उपचारका लागि शनिबारै गृहमन्त्री निधिसँगै हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ ।

कार्यक्रममा सहिद गौतमको तस्वीरमा गृहमन्त्री निधि, मन्त्री लेखक र सांसदहरुले माल्यार्पण गरेका थिए ।

कार्यक्रममा कन्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले घटनाकाबारेमा मन्त्री निधिलाई जानकारी गराएका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..