महाधिवेशनको तयारी पुरा : ४ सय दलित समुदायका पत्रकारहरू बुटवलमा

National Dalit Journalists Association np

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन फागुन २८,२९ र चैत १ गते बुटवल स्थित आम्रपाली कटेजमा आयोजना हुने भएको छ ।

National Dalit Journalists Association npमुलुकभर क्रियाशील दलित समुदायका पत्रकारहरुको छाता संगठनको रुपमा रहेको उक्त महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहने छ ।

महाधिवेशन उद्घाटन अघि फागुन २८ गते शुक्रबार बिहान ८ बजे पुष्पलाल पार्कदेखि बाजागाजा सहितको र्याली आम्रपाली कटेजमा पुगि उद्घाटन सत्रमा परिणत हुने आयोजकले जनाएको छ ।

बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरि आवश्यक तयारी पूरा भएको राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले बताउनुभयो । महाधिवेशन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका केन्द्रीय अध्यक्ष पहाडीले जानकारी दिनुभएको छ ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा, राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्मा, राजपाका नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायत पेशागत संघ संगठनका प्रमुखहरुको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महाधिवेशनमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने ४ वटा पुरस्कार संघले वितरण गरिने आयोजकले जानकारी दिएको छ । टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार(डि.बि परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसैगरि दलित समदायका संचारकर्मीहरुका लागि लेखनवृत्ति समेत संघले प्रदान गर्ने भएको छ । यसैगरि महाधिवेशनका अवसरमा “आमसञ्चार र समावेशिताको सवाल”, “मिडियामा महिला: दलित महिला”, “दलित आन्दोलन युवा र आम सञ्चार” विषयमा छुट्टाछुट्टै कार्यशाला गोष्ठी समेत आयोजना गरिने सम्मेलनमा जानकारी दिइएको छ ।

उक्त कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, विष्णु निष्ठुरी, बरिष्ठ पत्रकार किशोर श्रेष्ठ, निर्मला शर्मा, रेम विश्वकर्मा, दलित युवा नेता पर्शुराम रम्तेल, गणेश विश्वकर्मा, दुर्गा सोब लगायतका वक्ताहरुले आफ्नो प्रस्तुती दिने भएका छन् ।

तीन दिन सम्म सञ्चालन हुने सो महाधिवेशनको समापनमा चैत १ गते मानवअधिकार तथा शान्ति समाजको संयोजन तथा बुटवलबाट प्रकाशन तथा प्रशारण भइरहेका सञ्चार गृहहरुको आयोजनामा देशभरका दलित समुदायका सञ्चारकर्मीहरुको सम्मानमा समता भोजको आयोजना हुने भएको छ ।

नेपालभर ६५ जिल्ला शाखा, सात प्रदेश र काठमाडौं उपत्यका समितिहरु क्रियाशिल छन् । संघमा देशभरका झण्डै १५ सय दलित समुदायका पत्रकारहरु आबद्ध छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..