कांग्रेसको महाधिबेशन प्रतिनिधिको भेला हेटौडामा सुरु !

kangress

आज मंगलबारबाट हेटौंडामा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण सुरु हुँदैछ । दुई दिनसम्म चल्ने प्रशिक्षणको लागि प्रदेश नम्बर ३ अन्तर्गतको ६ वटा जिल्लाका २९० महाधिवेशन प्रतिनिधिहरु हेटौंडामा भेला हुनेछन् ।

भोलि बुधबारसम्म चल्ने प्रशिक्षणको उद्घाटन कांग्रेसका केन्द्रीय सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् कांग्रेस मकवानपुरको संयोजनमा हेटौंडामा भेला तथा प्रशिक्षण हुन लागेको हो । प्रदेश ३ का ७ जिल्लाको भेला तथा प्रशिक्षण यसअघि नै भक्तपुरमा भैसकेको छ । भेलाको उद्घाटनमा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवम् पार्टी उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा.शशांक कोइराला सहित करिब एक दर्जन केन्द्रीय सदस्यहरु हेटौंडा आउने जानकारी दिइएको छ ।

कांग्रेसको नेतृत्वमा मुलुकमा भएको परिवर्तनहरुको बिषयमा ईतिहासको स्मरण गराँउदै सरकारको व्यवहार र सरकारले गरेको कमजोरीका बिषय उठान गर्दै जनतामा कसरी जाने भन्ने बिषयमा छलफल केन्द्रीत हुने कांग्रेस मकवानपुर सभापति बानियाँले बताए । ‘हिजोको सहमति कार्यान्वयन भयो कि भएन ? जनता सामु गरिएका प्रतिबद्धताहरु कत्तिको पूरा भए ? स्वतन्त्र रुपमा काम गर्न पाइयो पाइएन ? यस्ता बिषयमा छलफल केन्द्रित हुनेछ’, बानियाँले भने, ‘भावी योजना, वर्तमान चुनौतिको बिषयमा महाधिवेशन प्रतिनिधिहरुलाई जानकारी गराउने र सरकारले गरेका गलत कामहरुको बिषयमा खबरदारी गर्ने तथा जनतामाझ कसरी जाने भन्ने विषयमा ठोस निर्णयमा पुगिनेछ ।’
प्रशिक्षणको सम्पूर्ण तयारी पूरा भएको र महाधिवेशन प्रतिनिधिहरु हेटौंडा आउने क्रम सुरु भैसकेको उनले बताए । ‘मकवानपुरसहित चितवन, सिन्धुली, धादिङ, नुवाकोट र रसुवाका महाधिवेशन प्रतिनिधि हेटौंडा आउनेछन्’, कांग्रेस मकवानपुर प्रवक्ता प्रदीप कोइरालाले भने, ‘बिहान साढे ११ बजेबाट पल्पसा हलमा सुरु हुने कार्यक्रममा प्रतिष्ठानका सदस्य एवम् राष्ट्रिय योजना अयोगका पूर्व उपाध्यक्षहरु डा.जगदिशचन्द्र पोखरेल, डा. गोबिन्द पोखरेल, नेतृ डा. आरजु देउवा राणा, प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाललगायतले विभिन्न बिषयमा प्रशिक्षण दिनुहुनेछ ।’नेपालको वर्तमान राजनीतिक अवस्थाको बारेमा विशेष चर्चा हुने कांग्रेस मकवानपुरले जनाएको छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..