नेपाल भाषाको समाचार बुलेटिन नहटाउन पत्रकार दबूका आग्रह

काठमाडौं । ईमेज च्यानल टेलिभिजनले नेपाल भाषाको समाचार प्रशारण बन्द गर्ने घोषणाप्रति नेवाः पत्रकार राष्ट्रिय दबूको ध्यानाकार्ष भएको छ ।

Nepal language

आगामी चैत्र १ गतेदेखि हरेक दिन राति १०ः १५ बजे प्रसारण भइरहेको समाचार बुलेटिन हटाउने निर्णयप्रति पुनः विचार गर्न विहिवार पत्रकार दबुले एक विज्ञप्ती जारी गरी आग्रह गरेको छ ।

दबूका महासचिव सुनिल महर्जनद्धारा विज्ञप्तीमा भनिएको छ,‘ विभिन्न राष्ट्रभाषामा समाचार बुलेटिन प्रसारण गरेर समावेशीका दृष्टिले मुलुककै उदाहरणीय टेलिभिजन हुनेतर्फ सोच परिलक्षित गर्नुपर्नेमा उल्टै नेपालभाषाको समाचार बुलेटिन बन्द गर्ने निर्णय गर्नु सर्वथा अनपेक्षित कार्य हो ।’

समावेशी सञ्चारका लागि क्रियाशिल सबैलाई यस कार्यले गम्भीर बनाएको र सम्बन्धित भाषाको ठूलो हिस्सामा रहेका दर्शकहरुलाई समेत निराश बनाएको जारी विज्ञप्तीमा भनिएको छ ।

‘सो समाचार बुलेटिन नेपाली सञ्चार क्षेत्र समावेशी बनाउने कोणबाट पनि अत्यन्त महत्व रहेकोमा यस निर्णयले ईमेज च्यानल आफ्नो गौरमय ईतिहास र समावेशीताको मानकबाट पछि हट्न खोजेको संकेतको रुपमा हामीले लिएका छौ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दबूले सो निर्णयप्रति पुनःविचार गरियोस भनेर जोडदार रुपमा अपिल गरेको जनाएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूया
प्रेस विज्ञप्ति
———————————-

मितिः २०७६।११।२९ बिहिबार
प्रेस विज्ञप्ति
ईमेज च्यानल टेलिभिजनबाट दुई दशकदेखि हरेक दिन राती १०ः१५ बजे प्रशारण हुँदै आएको नेपालभाषाको समाचार बुलेटिन यहि चैत १ गतेदेखि बन्द हुने निर्णयप्रति यस नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल एक बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यो तथ्यलाई नेपालको संविधानको प्रस्तावनामा नै उल्लेख गरिएको छ । संविधानको यहि मर्म अनुरुप नेपालको सञ्चार क्षेत्रमा वर्ग, क्षेत्र र भाषा संस्कृतिका जनताका आवाज मुखरित गर्नुपर्ने आजको आवश्यकता हो । यहि आवश्यकता सम्बोधन गर्न मातृभाषाको पत्रकारिताको अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ । नेपालको संविधानले पनि नेपालमा बोलिने सबै भाषालाई राष्ट्र भाषा हुन् भनेर स्वीकार गरेको अवस्थामा मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नु सञ्चार क्षेत्रको दायित्व हो । यस परिप्रेक्ष्यमा ईमेज च्यानलले विभिन्न राष्ट्र भाषामा समाचार बुलेटिन प्रशारण गरेर यस क्षेत्रमा मुलुककै उदाहरणीय टेलिभिजन हुनेतर्फ सोच परिलक्षित गर्नुपर्नेमा उल्टै रातीको नेपालभाषाको समाचार बुलेटिन बन्द गर्ने निर्णय गर्नु सर्वथा अनपेक्षित कार्य हो । यस कार्यले सम्बन्धित भाषाको ठूलो हिस्सामा रहेका दर्शकहरुलाई मात्र नभई समावेशी सञ्चारका लागि क्रियाशील सबैलाई गम्भीर बनाएको छ ।
सो समाचार बुलेटिन नेपाली सञ्चार क्षेत्र समावेशी बनाउने कोणबाट पनि अत्यन्त महत्व रहेकोमा यस निर्णयले ईमेज च्यानल आफ्नो गौरवमय इतिहास र समावेशिताको मानकबाट पछि हट्न खोजेको संकेतको रुपमा हामीले लिएका छौं ।
अतः देशभरका नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको एक घटक संगठनका रुपमा रहेको यस पत्रकार राष्ट्रिय दबू सो निर्णयप्रति पुनर्विचार गरियोस् भनेर जोडदार अपिल गर्दछौं ।

सुनील महर्जन
महासचिव, नेवाः पत्रकार राष्ट्रिय दबू

Image Press Release

Kantipath Media

यो छुट्टाउनु भो कि..