डीएसपी प्रह्लाद कार्कीले बुट र लौरी हान्दै सर्जिकल कर्मचारीमाथि यसरी गरे कुटपिट (भिडियो)

नेपाल प्रहरीका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले एउटा सर्जिकल पसलमा पसेर कर्मचारीलाई बुट र लौरोले हिर्काएको सीसीटीभी भिडियो भाइरल बनेको छ ।

डीएसपीले गरेको कुटपिटको सबैले आलोचना गरेका छन् । उनलाई कारबाही गर्नुपर्ने मागसमेत सबैतिरबाट उठेको छ । उक्त भिडियो वीरगन्ज महानगरपालिका– ८ आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसको हो ।

बुधबार बिहान १० बजेर २१ मिनेटमा सर्जिकल पसलमा प्रवेश गरी त्यहाँका कर्मचारी अफरोज अहमदलाई कुटेका थिए । भिडियो खिचेको आरोपमा अहमदलाई कुटिरहेका डीएसपीले पसलमा सीसीटीभी जडान रहेको थाहा नै पाएनन् ।

सर्जिकल हाउसको छेउमै रहेको किराना पसल बन्द गराउने क्रममा अहमदले भिडियो खिचेको आरोपमा डीएसपीले कुटपिट गरेको प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले जनाए ।

लौरो र बुटले हिर्काएपछि अहमदको मोबाइल समेत डीएसपीले खोसेर लगेको पटेलले बताए ।

हाल वीरगन्जमा निषेधाज्ञा लगाइएको छ । बिहान ८ बजेसम्म मात्र तरकारी तथा खाद्यान्न पसलहरु खोल्न दिने प्रशासनले अनुमति दिएको छ ।

डीएसपी कार्कीको टोली गस्तीमा निस्किएको क्रममा सर्जिकल हाउस छेउको किराना पसल खुल्लै थियो । उनको टोली पसलेलाई कुटपिट गर्दै बन्द गराउन थाले । ‘त्यही बेला वीरगन्जको छपकैया निवासी अफरोज अहमद केही समय अगाडि मात्र सर्जिकल पसल खोलेर साथीसँग भिडियो कलमा कुरा गर्दै थिए,’ पसल सञ्चालक पटेल भन्छन्, ‘प्रहरीलाई लाग्यो कि कुटेको भिडियो बनाउँदै छ ।’

किराना पसल बन्द गराएर डीएसपीको टोली सर्जिकल हाउसभित्र छिर्यो । प्रहरीको ज्यादतीको भिडियो खिचेर भाइरल गर्ने भन्दै डीएसपीले अहमदलाई लौरो र बुटले हिर्काइरहेको सीसीटीभी फुटेजमा रेकर्ड भएको छ ।

‘भिडियो खिच्यो भन्दैमा त्यसरी अमानवीय तरिकाले पिट्नु त भएन नि,’ पटेल भन्छन्, ‘कानुनअनुसार कारबाही गरे भइहाल्थ्यो, अहमदलाई सञ्चो नभएर घरमा सुतिरहेको छ ।’

प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले यसलाई ‘करेक्सन’ गर्ने बताउँछन् । ‘भिडियो खिचेको थियो भने त्यसलाई सम्झाएर डिलिट गर्न सकिन्थ्यो,’ उनले भने, ‘त्यसरी पिट्नुचाँहि गलत हो ।’

केही दिनयता निषेधाज्ञा उल्लघंन गरी भीडभाड गर्ने क्रम बढेको थियो । एसपी पाण्डेका अनुसार मिटिङ नै गरेर कडाइ गर्ने कुरा भएको थियो ।

‘डीएसपी कार्कीको टोली गस्तीमा जाँदा आर्मी ब्यारेक पछाडि अत्याधिक भीडभाड थियो,’ एसपी पाण्डेले भने, ‘त्यसलाई नियन्त्रण गने क्रममा केहीले भिडियो खिचेका थिए, तर, भिडियो खिच्दैमा त्यसरी पिट्नु हुन्न्, गलत भएको छ, हामी सच्याउँछौँ ।’

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..