प्रहरीमा प्रश्नपत्र ‘लिक’ प्रकरण : परिक्षा रद्ध नहुने, संगठनलाई बदनाम गर्ने खुलेआम हिड्दै !

संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा सहभागी गराउन प्रहरी प्रधान कार्यालयभित्र लिइएको परीक्षाको प्रश्नपत्र आउट भएको छ। मिसनमा सहभागी हुन इच्छुक प्रहरी कर्मचारीको छनाेटका लागि शनिबार प्रहरी प्रधान कार्यालयभित्रै १ हजार ४ सय प्रहरी कर्मचारीको प्रिस्याट परीक्षा लिइएको थियो। प्रिस्याटमा उत्तीर्ण भएपछि स्याट परीक्षामा सहभागी भएर मिसनमा जाने प्रहरीको छनाेट हुने गर्छ। प्रिस्याटमा कमजोर दाबेदारहरु छनोट हुँदा राष्ट्रसंघका प्रतिनिधि आएर लिने स्याट परीक्षामा नेपाल प्रहरी कै बदनामी हुने सम्भावना बढेर गएको छ ।

प्रहरी प्रधान कार्यालयमा रहेको युएन मिसन हेर्ने शाखाले लिएको परीक्षामा परीक्षा सुरु हुनुअगाडि नै प्रश्नपत्र लिक गराइएको थियो। प्रिस्याटमा सहभागीमध्येबाट अधिकतम साढे २ सयको राष्ट्र सङ्घबाट आउने टोलीले लिने परीक्षामा सहभागी हुन पाउँछन्। सो टोलीले लिएको परीक्षामा उत्तीर्ण भए मात्र मिसनमा सहभागी हुन पाइने नियम छ।

जानकार स्रोतका अनुसार परीक्षा सुरु हुनुअगाडि नै कन्प्रिह्यान्सिभ र रिपोर्ट राइटिङमा के आउँदै छ भन्ने बाहिरिएको थियो। ‘परीक्षा अगाडि नै सुटिङसम्बन्धी कन्प्रिह्यान्सिभ र रिपोर्ट राइटिङ आउने लिक भइसकेको थियो। प्रश्नपत्रमा पनि त्यही आयो।’

आफू निकटकालाई उत्तीर्ण गर्न प्रश्नपत्र लिक गराएको भन्दै केही परीक्षार्थीले गुनासो गरेपछि परीक्षा एक घण्टा ढिला भएको थियो। तर, परीक्षा स्थगित भएन। परीक्षामा जुन प्रश्न आउँछ भनेको त्यही आएपछि प्रहरी महानिरीक्षकको सचिवालयले छानबिन सुरु गरेको थियो। प्रहरी प्रवक्ता वसन्त कुँवरले परीक्षामा प्रश्नपत्र लिक भएको गुनासो आएपछि केही समय परीक्षा ढिला गरेर लिएको जानकारी दिए। कुँवरका अनुसार नयाँ प्रश्नपत्रमा परिक्षा लिईएको हुँदा परिक्षा रद्द हुने सम्भावना निकै कम छ । छानबिन समितिको निष्कर्ष अनुसार अघि बढ्ने सुरसार भएको पनि उनले बताए । काठमाडौँ परिक्षा केन्द्रमा समस्या आएपनि अन्य प्रदेशमा भने समस्या नभएको कुँवरले बताए ।

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परिक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए । प्रश्नपत्र ‘लिक’ भएको हल्लापछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्रको सेट तयार गरेर डेढघण्टा ढिलो परीक्षा लिएको थियो । प्रश्नपत्र लिक गरेको आशंकामा प्रधान कार्यालयबाट साइबर ब्यूरोमा सरुवा भएका कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी शुरेश बमलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ । कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको बताइएको छ । स्रोतका अनुसार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी बसन्त लामा नेतृत्वको समितिले घटनाबारे छानविन गरिरहेको छ ।

प्रि–स्याटको प्रश्नपत्र परीक्षा हुनभन्दा अघि डीएसपी रुपेश खड्काको घरमै पुगेको थियो । यसअघि युएन शाखामा काम गरेका खड्कालाई भर्खरै निरीक्षकमा बढुवा भएका दिनेश पुनले प्रश्नपत्र पठाएका हुन् । डीएसपी खड्कालाई प्रश्नपत्र पु¥याउन प्रहरी नायव निरिक्षक (सई) जनक थापा उनको घरमा पुगेको स्रोतले बतायो ।

डीएसपी खड्कासहित ८ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएका थिए । यसअगाडि राष्ट्रसंघीय मिसनका प्रतिनिधि नै आएर लिएको परीक्षाको समेत प्रश्नपत्र लिक भएको थियो। पाँच वर्षअगाडि सशस्त्र प्रहरीको हेडक्वार्टर भएको स्याट परीक्षाकै प्रश्नपत्र मिलेमतोमा बाहिरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण परीक्षाकै प्रश्नपत्र लिक भएको र सो काम सशस्त्र प्रहरीका कर्मचारीले गरेको पुष्टि भएपछि परीक्षा नै रद्द भएको थियो।

सो प्रकरणमा नेपाल प्रहरीका ५ सय र सशस्त्रका ३ जना कर्मचारी संलग्न रहेको परीक्षाका लागि १२ र ३ बजे परीक्षाको समय तोकिएकोमा १० बजे नै प्रश्नपत्र बाहिरिएको र अन्तर्राष्ट्रिय टोली बसेर फोटोकपी गरेर प्रश्नपत्र आफूसँगै लिएर हिँडे पनि सशस्त्रले फोटोकपी गरिएका सामग्रीको डिजिटल कपी कम्प्युटरमा रेकर्ड बस्ने पद्धति रहेकोबारे जानकार सशस्त्रका कर्मचारी प्रश्नपत्र लिक गरेर भाइबरमार्फत परीक्षार्थीलाई पठाएको खुलेको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..