ओली विवादमा तानिएपछि सपथबाट हट्यो ‘प्रतिज्ञा’ शब्द

सार्वजनिक पद धारण गरेका व्यक्तिले पद तथा गोपनीयताको शपथग्रहण गर्दा अब ‘प्रतिज्ञा’ शब्द उच्चारण गर्न नपर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको ३१ वैशाखको शपथग्रहण विवादमा तानिएपछि सरकारले बिहीबार शपथसम्बन्धी अध्यादेश, २०७८ जारी गरेर ‘प्रतिज्ञा’ शब्द नै हटाएको छ ।

संविधानको धारा ७६ (३)अनुसार संसद्मा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ३० वैशाखमा पुनः प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यसको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । उनले ‘प्रतिज्ञा’ शब्द उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले  सम्झाउँदा उनले ‘त्यो पर्दैन’ भनेका थिए । शपथको ढाँचाविपरीत शब्द उच्चारण गरेको भन्दै चातर्फी आलोचना हुनुका साथै सर्वोच्च अदालतमा रिटसमेत परेको थियो ।

संशोधित शपथमा ‘…कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह नराखी, खराब भावना नलिई इमानदारीका साथ पालना गर्नेछु’ भन्ने शब्द राखिएको छ । यसअघि ‘…पालना गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शब्द थियो ।

अध्यादेशमार्फत ‘देश र जनताका नाममा’ शपथ लिन पाउने कानुनी व्यवस्था पनि गरिएको छ । यसअघिको शपथ ढाँचामा ‘ईश्वरका नाममा…’ शपथ लिने व्यवस्था थियो । तर, शपथ लिने पदाधिकारीले आफूखुसी शब्द थप्दै उच्चारण गर्ने गरेका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..