annapurna add

देशले भोग्नुपरेका अनेकौँ खराबी र सङ्कटले नेपाल कम्युनिस्ट पार्टी र यसका नेता–कार्यकर्तालाई थप जिम्मेवारी थपिदिएको छ । सङ्कटलाई समाधान दिनुपर्ने उक्त जिम्मेवारीलाई हाम्रा नेता र कार्यकर्ताले गहिरो गरी आत्मसाथ गरेर कठोर मेहनत गर्नुपर्दछ ।

New responsibilities added to the partyकाङ्ग्रेस, एमाले, माकेहरूले दलाल पुँजीवादी सत्ता लादेपछि केपी–प्रचण्डहरूले मोर्चाबन्दी गरेर संसदीय चुनावमा लगभग दुई तिहाइको बहुमत प्राप्त गरे । उनीहरूले चुनावमा अनेकौँ सपनाहरू बाँडे र जनताका सामु प्रतिबद्धता पनि जाहेर गरे तर जब सरकार बन्यो जनतासँग बाँडेको सपनाको कुरै छोडौँ राम्रोसँग सरकार पनि चलाउन सकेनन् । सरकार बनेकै केही समयपछि जनता र देशलाई भुलेर केन्द्र, राज्य र स्थानीय सरकारमा बसेकाहरू जनताको सेवा गर्न छोडेर जनताले कर तिरेर जम्मा पारेको कोष उडाउन र आफ्ना थैली भर्नतिर कुदे । विदेशी एकाधिकारवादी–निगम पुँजीपति मालिकहरूसँग साँठगाँठ गरेर कमिसन खानका लागि दलाल पुँजीलाई प्रोत्साहन दिए । सरकारमा पुग्न नपाएर मुर्मुरिएकाहरू चौबाटोमा उभिएर सत्तोसराप गर्नेतिर ओर्लिए ।

आपसमा एकले अर्कालाई आफ्ना मान्छे मात्रलाई मौका दिएको, एक्लै सुविधा खाएको, देश डुबाएको र घेराबन्दी गरेको भन्दै झगडा गर्न थाले । माधव–प्रचण्डहरूले केपी सरकार असफल भएको र केपीहरूले पार्टीले सरकारी कामको स्वामित्व लिन नसकेको ९पार्टी असफल भएको० आरोप लगाए पनि वास्तवमा सरकार र डबल नेकपा दुवै असफल भएका छन् । आम नागरिकले यो वास्तविकता बुझ्दै गएका छन् ।

केपी सरकार कमजोर हुँदै गएपछि विदेशीहरूले आफ्ना हस्तक्षेपहरू अझ बढाएर फाइदा सोहोर्नतिर तँछाडमछाड गरिरहेका छन् । भारतले आफ्नो नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई गाभेर नक्सा प्रकाशित गर्यो । नेपालसँग कुरा गर्न पनि मानिरहेको छैन । अमेरिकाले हिन्द–प्रशान्त रणनीति अघि सारेर एमसीसीमार्फत नेपाललाई अड्डा बनाउन खोज्दैछ । युरोपियन युनियनले सङ्घीयता, धर्म, एनजीओहरू खन्याएर नेपाललाई आफ्नो मुठीभित्र पार्न खोजिरहेको छ । चीनले पनि बीआरआईमार्फत नेपालमा आफ्नो प्रभाव सुदृढ गर्न खोजिरहेको छ । यद्यपि चीनको धारणा नेपाललाई नियन्त्रण गर्नेखालको कम देखिन्छ ।

देशभित्र भ्रष्टाचारीहरूको राज चलेको छ । भ्रष्टाचार महामारी रोगजस्तो फैलिएको छ । भ्रष्टाचारको मार सीधा जनतामा परिरहेको छ । भ्रष्टहरू रातारात करोडपति र अर्बपति बन्दै गएका छन् । अवैध एवम् तस्करीमा राज्यका उपल्लो ओहोदामा बसेका मान्छेहरू प्रत्यक्ष संलग्न छन् । करछली गरेर राज्यलाई टाट पल्टाउने अनि दलालहरू सुँगुरजसरी मोटाउँदै गएका छन् । पार्टी, नेता, कर्मचारीहरू दलालको पनि दलालमा पतन हुँदै गएका छन् । पार्टी चलाउन होस्, पार्टीभित्रको हैसियत कायम गर्न, सरकार बनाउन, मन्त्री हुन, सरकार फेर्न, कर्मचारीको माथिल्लो ओहोदामा पुग्न, प्रहरी प्रशासनमा पद हत्याउन विदेशी केन्द्रहरूको आशीर्वाद चाहिने भएको छ । नागरिकहरू शिक्षा, स्वास्थ्य, रोजगारीको अधिकारबाट वञ्चित हुँदै गएका छन् ।

हाम्रो स्पष्ट दृष्टिकोण छ– चर्चा सरकार र डबल नेकपाको असफलताको भए पनि सारमा यो कुनै सरकार, व्यक्ति, पार्टीविशेषको कुरा मात्र होइन, यो दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाकै सङ्कट र असफलता हो । यो न केपी सरकारलाई हटाएर मात्र समाधान हुन्छ, न त नेकपाको सट्टा नेपाली काङ्ग्रेस वा अर्को कुनै संसदीय पार्टीलाई जिम्मा दिएर नै समाधान हुन्छ । संसदीय व्यवस्थाभित्रको लामो प्रयोग, असफलता र शिक्षाले साबित गर्छ– जनताले भोग्दै आएका समस्याहरूको समाधानका लागि जनताको सत्ता वैज्ञानिक समाजवादी व्यवस्थासम्म पुग्न आवश्यक छ ।

नेपाली काङ्ग्रेस, एमाले, माके, डबल नेकपा र पुँजीवादी संसदीय व्यवस्थाको असफलतापछि आमजनताहरूले नेपाल कम्युनिस्ट पार्टीमाथि आशा र भरोसाको दृष्टिले हेरिरहेका छन् । यो आशा र भरोसा पनि त्यसै पैदा भएको होइन । यसका लागि हाम्रो पार्टी र हाम्रा नेता–कार्यकर्ताहरूले धेरै ठूला त्याग, बलिदान, दुःख, कष्ट र मेहनत गरेका छन् ।

जनताको भलाइ र समृद्धि पुँजीवादी संसदीय व्यवस्थाबाट हुँदैन । त्यसका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक छ भनेर जीवनलाई हत्केलामा राखेर निरन्तर लडेका कारण, जनतासँग रातदिन नभनेर खटिरहेका कारण, कयौँ योद्धाहरूले रगत दिएका र कयौँ नेता–कार्यकर्ताहरू जेलमा बन्द हुन तयार भएका कारण पैदा भएको छ । यो भरोसालाई हाम्रा नेता–कार्यकर्ताले गम्भीरतापूर्वक बोध गर्नु पर्दछ ।

जनताको आशा र भरोसालाई पूरा गर्न जिम्मेवारीलाई बोध गर्नुपर्छ भन्नुको अर्थ हामीले आफ्नो पङ्क्तिलाई शक्तिशाली बनाउनु, मित्रहरूसँगको सम्बन्ध सुदृढ बनाउनु, जनताको सेवामा समर्पित हुनु र सङ्कटबाट देशलाई निकास दिन नेतृत्व लिँदै जानु हो ।

देशको आवश्यकता छ र जनताको आशा छ भन्दैमा हामीसँग उनीहरूको नेतृत्व गर्ने आत्मिक शक्ति र क्षमता छैन भने ती आवश्यकता र आशा पूरा हुन सक्दैनन् । कयौँ देशहरूमा क्रान्तिको सम्भावना हुँदाहुँदै पनि सफल हुन नसक्नुको कारण आत्मगत शक्ति र क्षमताको अभाव हुनु नै हो । तसर्थ हामीले अलिकति पनि हेलचेक्र्याइँ र ढिला नगरी पार्टीलाई माथिदेखि तलसम्म सुसङ्गठित, सुव्यवस्थित, अनुशासित र गतिशील बनाउनुपर्छ ।

केन्द्रीय समितिमा ऐतिहासिक शुद्धीकरण सञ्चालन गरेपछि निकै हदसम्म पार्टी असल बनेको छ । केन्द्रमै बसेर क्रान्तिप्रति अविश्वास राख्ने, पार्टीप्रति विश्वस्त नबनाउने, पार्टीको विचारप्रति ढुलमूल गर्ने, पार्टीको पैसा हिनामिना गर्ने, अनुशासनमा नबस्ने समस्याहरू हल हुँदै गएका छन् । यद्यपि यो लडाइँ एक महिना, एक योजना, एक वर्ष, केही वर्ष लडेर सकिने लडाइँ होइन । तर तल्ला समिति र जवसहरूमा पार्टी र अन्य सङ्गठनहरूलाई दुरुस्त गर्न पूरै मेहनत गर्दै जानुपर्छ । पार्टी समितिहरू साँच्चैका कम्युनिस्ट पार्टी समितिजस्ता बनाउन अरू मेहनत गर्नुपर्छ ।

हामीले आन्तरिक क्षमतालाई मजबुत बनाउनका लागि जनमुक्ति सेनालाई हरदम चुस्त–दुरुस्त, अनुशासित, गतिशील र तेजिलो बनाइराख्नुपर्छ । जनमुक्ति सेना भनेको भाडामा लड्न हिँडेको बन्दुके सेना होइन । बन्दुक पाएपछि जनताको वास्तै नगर्ने लठैत सेना होइन । यो वैज्ञानिक समाजवाद–साम्यवादको महान् उद्देश्य लिएर जनताको मुक्तिका लागि सङ्गठित भएको सेना हो । यसले आफ्नो संस्थाका मान्यताहरूलाई पूर्ण रूपले पालना गर्नुपर्छ ।

जनसेनामा असल गुणहरू हुँदाहुँदै पनि केही विगतका गलत संस्कारहरू बचिराखेका छन् । हामीले जनमुक्ति सेनालाई अब्बल दर्जाको सेना बनाएर नै जनताको मन जित्न सक्छौँ । तसर्थ सेनालाई मजबुत बनाउन पार्टी नेता–कार्यकर्ताहरूले विशेष ध्यान दिनुपर्छ ।

पार्टीको आन्तरिक क्षमतालाई विकास गर्नका लागि जवस, मोर्चाहरूलाई व्यापक रूपले सङ्गठित, व्यवस्थित, अनुशासित र सक्रिय बनाउन आवश्यक छ । जवस, मोर्चाहरू कम्युनिस्ट कार्यकर्ता विकासका स्रोत हुन् भने जनसम्बन्ध विकासका लागि माध्यम हुन् । जवस, मोर्चाहरूको व्यापक निर्माण र विस्तारबिना जनतामा पार्टीका विचार, दृष्टिकोण र नीतिहरू पुर्याउन गाह्रो पर्छ । पछिल्लो समयमा जनसङ्गठनहरूप्रतिको अरुचि बढी नै छ । यसलाई नयाँ रचनात्मक कार्यक्रमहरूसहित जनतामा प्रभावकारी बनाउन आवश्यक छ ।

जनताको आशा र भरोसालाई पूरा गर्न मित्रहरूसँगको सम्बन्धलाई सुदृढ बनाउनुपर्छ भन्नुको अर्थ हो– पार्टीले मित्र राजनीतिक पार्टी, शक्ति, व्यक्ति र समुदायसँग राम्रो सम्बन्ध विकास गर्नुपर्छ । उनीहरूसँगका भेटघाट, छलफल, सहकार्य र सहयात्रामा जोड दिनुपर्छ । जस्तो कि हामीले दलाल पुँजीवादी सत्ता, केपी वली सरकार, भारतीय साम्राज्यवाद, अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्न तयार हुने राजनीतिक पार्टी, शक्ति, व्यक्ति, बुद्धिजीवी र समुदायलाई क्रान्तिका मित्र मानेका छौँ । मित्रशक्तिहरू देशका सबै क्षेत्र सहर, गाउँ, स्वतन्त्र र विभिन्न पार्टीभित्र छन् । ती मित्रहरूसँग केन्द्रीय र स्थानीय तहमा जनता र देशसँग सम्बन्धित मामिलामा अन्तक्रियाहरू सञ्चालन गर्न, भेटघाट, छलफल गर्न, कार्यक्रम बनाउन साथै सहकार्य गर्न जोड लगाउनुपर्छ ।

जनताको आशालाई देशलाई परिवर्तन गर्ने तहसम्म उठाउन जनताको सेवा गर्नेमा पार्टीपङ्क्ति निरन्तर लागिपर्नु पर्दछ । हाम्रो राजनीतिक क्रान्ति र पार्टीको लक्ष्य जनतालाई सुखी, समृद्ध, एवम् सभ्य बनाउनुभन्दा अरू केही छैन । दलाल पुँजीवादले जनतामाथि लादेका अनेकौँ विभेद, शोषण, उत्पीडन, असमानता, गरिबीबाट जनतालाई मुक्त बनाउनु र सारा मानव जातिलाई स्वतन्त्र एवम् समानतामूलक दुनियाँ वैज्ञानिक समाजवादमा पुर्याउनुभन्दा अरू छैन । यसका लागि जनताका बीचमा पुग्नु, जनतालाई शिक्षित पार्नु, एकताबद्ध र सङ्गठित गर्नु, उनीहरूका हितमा तत्कालिक र दीर्घकालिक कामहरू गर्नु जनसेवाका रूपहरू हुन् । जनताका सुखदुःखमा सँगै रहनु र सकेसम्म सहयोग पुर्याउनु जनसेवा हो । तसर्थ पार्टीपङ्क्तिले महान् वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नहुँदासम्म त्यो प्राप्तिका लागि र प्राप्त भइसकेपछि त्यसको विकासका लागि जनतामा पुगिरहनुपर्छ । यो काम हामीले निरन्तर गर्दै आएका छौँ । यद्यपि यसको मात्रालाई क्रान्तिको आवश्यकतामा अरू बढाउन आवश्यक छ । जनता, जनता र अन्ततः जनता नै हामीले सफलता हासिल गर्ने आधार हो ।

देशलाई वैज्ञानिक समाजवादमा रूपान्तरण गरेर मात्र जनताले वास्तविक सुख, शान्ति र समृद्धि प्र्राप्त गर्न सक्छन् भन्ने दृष्टिकोण हामीले शान्तिप्रक्रिया थालनी भएदेखि नै राख्दै आएका छौँ । दलाल पुँजीवादलाई कायम गर्नु मुठीभर दलाल पुँजीपतिवर्ग, विदेशी एकाधिकार पुँजीपति, निगम पुँजीपति वर्ग र सत्तामा पुग्ने केही नेता र नोकरशाहहरूका लागि मात्र हितकर हुन्छ । अरू सबै जनताहरूले समस्यैसमस्या भोग्नुपर्ने हुन्छ । त्यसैले देशलाई वैज्ञानिक समाजवादमा लैजानुपर्छ भन्दै आएका हौँ ।

तर संसद्वादी दलहरूको जालझेल, प्रचण्ड–बाबुराम–बादलहरूको आत्मसमर्पण, विदेशी पुँजीपतिवर्गको दबाबका कारण देशले दलाल पुँजीवादी राज्य व्यवस्थाभित्रै कैद हुनुपर्यो । यसको परिणाम नै आजका सारा खराबी र सङ्कट हुन् । आज पनि हाम्रो सुस्पष्ट दृष्टिकोण छ– देशका समस्या र सङ्कटलाई साँच्चै समाधान गर्ने हो । यसका लागि केपी सरकारको सट्टा प्रचण्ड वा माधवको सरकार, सरकारी नेकपाको सट्टा काङ्ग्रेसको सरकार वा अन्य कुनै व्यक्तिको सरकार बनाएर सम्भव छैन । त्यसका लागि नेपालमा कायम रहेको दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्थालाई फेर्नुपर्छ र वैज्ञानिक समाजवाद निर्माण गर्नुपर्छ ।

चौतर्फी सङ्कट र समस्याहरूको चाप भोग्दै गर्दा नेपाली जनताले हाम्रो दृष्टिकोण, राजनीतिक विचार र सङ्घर्षलाई सकारात्मक ढङ्गले लिँदै गएका छन् । अनेकौँ राजनीतिक व्यवस्थाको प्रयोग र असफलताबाट प्रशिक्षित नेपाली जनताले आउँदो दिनमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको सट्टा वैज्ञानिक समाजवादी सत्तालाई आत्मसाथ गर्नेछन् भन्ने हाम्रो दृढ विश्वास छ । साथै वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिमा बढिरहेको हाम्रो पार्टीलाई साथ दिनेछन् भन्ने पनि पूर्ण विश्वास छ ।

तसर्थ हाम्रा नेता–कार्यकर्ताहरूले आज देशले भोगिरहेका समस्या र सङ्कटहरूलाई स्थायी र दीर्घकालिक तरिकाले समाधान दिन नेतृत्वदायी भूमिका हरदम पूरा गरिरहनु पर्दछ । माक्र्सले कम्युनिस्ट घोषणापत्रमा भन्नुभएको थियो, ‘पुँजीपति वर्गले आफैँभित्रबाट आफूलाई समाप्त पार्ने क्रान्तिकारी शक्तिको जन्म दिएको छ, त्यो हो– सर्वहारावर्ग ।’ नेपालका सन्दर्भमा भन्नुपर्दा दलाल पुँजीपतिवर्गले आफैँभित्रबाट आफैँलाई समाप्त पार्ने जनमतको विकास गर्दैछ, त्यो हो– यथास्थितिको रूपान्तरण चाहने परिवर्तनकारी जनमत ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार