नवएमालेलाई ओली पक्षले दियो जिम्मेवारी

kp oli badal t

kp oli badal t

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २३ मध्ये आठ नेतालाई केपी ओली पक्षले पार्टीका विभिन्न प्रदेश र विभागमा जिम्मेवारी दिएको छ । सर्वोच्च अदालतले २३ फागुनमा एकीकृत पार्टी नेकपा अवैधानिक रहेको फैसला गरेपछि बसेका ओली पक्षका विभिन्न कमिटीका बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानि) मार्फत माओवादीबाट प्रवेश गरेका नेताहरूको जिम्मेवारी तोकिएको छ ।

नेकपा (एमाले) ले पार्टी पंक्तिमा २० पन्ने ‘अन्तरपार्टी निर्देशन’ (सर्कुलर) जारी गरेको छ । पार्टीको गत चैत ७ गते बसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा एमालेले ‘अन्तरपार्टी निर्देशन’ जारी गरेको हो ।

मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकले पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेकाले सोको आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयनका लागि सम्पूर्ण पार्टी पङ्क्तिमा निर्देशन जारी गरिएको सर्कुलरमा भनिएको छ ।

जसमा पछिल्लो राजनीतिक घटनाक्रम र अदालतका फैसलाहरूका सम्बन्धमा सविस्तार ब्याख्या गरिएको छ भने विभिन्न आन्तरिक आदेश र निर्णयहरूबारे जानकारी गराइएको छ ।

एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि एमालेमा लागेका माओवादी केन्द्रका २३ मध्ये आठजनाको जिम्मेवारी प्रदेश र विभागमा तोकिएको छ । जसमध्ये दुईजनालाई प्रदेश इन्चार्ज, चारजनालाई प्रदेश सहइन्चार्ज र एकजनालाई प्रदेश अध्यक्ष तथा एकजनालाई जनवर्गीय संगठनको जिम्मेवारी दिइएको छ ।

एमालेले रामबहादुर थापालाई बागमती प्रदेश इन्चार्ज, लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । त्यस्तै सहइन्चार्जमा टंक आङबुहाङलाई प्रदेश नम्बर १, मणि थापा र गिरिधारीलाल न्यौपानेलाई लुम्बिनी प्रदेश, लिलबहादुर थापालाई गण्डकीको जिम्मेवारी दिइएको छ । त्यस्तै, प्रभु साहलाई प्रदेश नम्बर २ को अध्यक्षको जिम्मेवारीमा राखिएको छ । टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको जिम्मेवारी दिइएको छ । 

Kantipath Media

यो छुट्टाउनु भो कि..