ओली पक्षले बोलाएको केन्द्रिय समिति बैठकमा माधव पक्ष नजाने

नेकपा एमालेको माधवकुमार नेपाल पक्ष शुक्रबार बोलाइएको पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षको महाधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आयोजक कमिटी भंग गर्ने र साविकको केन्द्रीय कमिटी ब्युँताउँने निर्णय गरेको थियो। सो कमिटीको बैठक शुक्रबारका लागि बोलाइएको छ।

ओलीपक्षले यो केन्द्रीय कमिटी २०७५ जेठ २ को अवस्थाकै भएको दाबी गरेको छ। तर, त्यसमा माओवादीबाट आएका नेताहरुलाई समेत समावेश गरिएकाले नेपालपक्षले जेठ २ मा फर्केको भन्न नमिल्ने जनाएको छ। बिहीबार बानेश्वरमा बसेको नेपालपक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले अहिलेकै अवस्थामा शुक्रबारको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको नेपालपक्षका नेता योगेश भट्टराईले बताए।

अवैधानिक कमिटीको निर्णयका आधारमा बैठक बोलाएर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको सन्देश दिन नचाहेको उनले बताए। पार्टीलाई जेठ २ को संरचनामा फर्काउनका लागि दुवै पक्षका बिचमा वार्ता र छलफल भएर सहमति हुनुपर्ने भन्दै उनले बैठक भन्दा पहिला एजेण्डामा सहमति हुनुपर्ने बताए। एकतर्फी रुपमा एजेण्डा तय हुनु गलत रहेको उनको भनाई छ।

बुधबार प्रधानमन्त्री ओलीले दसौं महाधिवेशन आयोजक कमिटी विघटन गरेर त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको घोषणा गरेका थिए। ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। २०७५ जेठ २ गते अघिको संगठनात्मक संरचनामा पार्टीलाई लैजानुको साटो महाधिवशेन आयोजक कमिटीलाई केन्द्रीय कमिटी मात्रै बनाइएको उनीहरुको भनाई छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..