एमाले (ओली पक्ष)ले बोलायो सर्वोच्चले मान्यता नदिएको महाधिवेशन आयोजक कमिटीको बैठक

नेकपा एमालेले दसौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

बैठकमा महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई पुनर्बहाली गरेको विषयमा पनि छलफल भएको उनले बताए । महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई मान्यता नदिएर अदालतले त्रुटिपूर्ण फैसला गरेका कारण आफूहरू भ्याकेटमा जानुपरेको ज्ञवालीको भनाइ छ । फ्लोर क्रस गरेको भन्दै एमालेले उनीहरूलाई सांसद र पार्टीबाट कारबाही गरेको थियो । तर, जेठ २७ गते अदालतले अन्तरिम आदेशमार्फत चार प्रदेश सांसदलाई पुनर्बहाली गरेको थियो ।

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् । यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । तर ओलीले सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएका हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..