Hidden
मन्त्रीहरुको टोली लिएर प्रचण्डको निर्वाचन क्षेत्र जाँदै ओली
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउने भएका छन्। भरतपुरमा दुईवटा विकास आयोजनाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली यहाँ आउन लागेका हुन्।
नेकपा चितवनले पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कार्यक्रमबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावलले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास प्रधानमन्त्रीबाट हुने जानकारी दिए।
यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक–गोन्द्राङ छ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गर्ने कार्यक्रम छ। उनका अनुसार यी दुई कार्यक्रम सम्बन्धित मन्त्रालयको समन्वयमा हुन लागेका हुन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिसमेत रहेका रावलका अनुसार उक्त कार्यक्रमपछि भरतपुरमा जनसभाको आयोजना गरिने छ ।
भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः१५ बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेता सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकासित मिति