आज विश्वासको मत लिंदै प्रधानमन्त्री खड्ग प्रसाद ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्। राजनीतिक उतारचढावबीच ओलीले विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि प्रतिनिधिसभा बैठक १ बजे बस्दै छ।

संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ।

आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र अविश्वास प्रस्तावउपर कारबाही प्रक्रिया अघि बढ्नेछ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागे पनि त्यसका लागि आवश्यक संख्या भने पुगेको छैन। आइतबार अबेरसम्मको राजनीतिक समीकरणअनुसार ओलीको विपक्षमा मत बढी आउने देखिएको छ।

एमालेकै माधव–झलनाथ समूहले ओली पक्षमा मतदान नगर्ने संकेत गरिसकेका छन्। उनीहरूले आज ९ बजेसम्म ओलीको निर्णय पर्खने र त्यसपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।

जनता समाजवादी पार्टी (जसपा)ले पनि मत नदिने संकेत गरिसकेको छ। तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले विश्वास मतको विपक्षमा मतदान गर्ने जनाएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..