सञ्चारमाध्यम र पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

सामाजिक सुरक्षा भत्ता चोरी भएको विषयमा खबर प्रकाशन गरेको भन्दै नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले पालिकाखबर डटकम र दैनिकी डटकमलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर आपत्ति जनाएको छ ।

याे पनि….

पञ्चकन्या गाउँपालिकामा बृद्ध भत्ताको ५३ लाख चोरीमा प्रमुख र प्रशासकीय अधिकृतको मिलेमतो

गत २४ चैतमा गाउँपालिकाको वडा नम्वर २ कार्यालयवाट भत्ताको ५० लाख र वडा कार्यालयमा भएको ३ लाख रुपैयाँ गरी ५३ लाख रुपैयाँ रहस्यमय ढंगले चोरी भएको विषयमा समाचार प्रकाशन र प्रशारण गरेपछि अध्यक्षले कानुनीसँगै जुनसुकै उपचार खोज्ने भन्दै विज्ञप्ति नै जारी गरेर धम्की दिएका थिए ।

खबर प्रकाशन गरेको विषयमा पालिका अध्यक्षले विज्ञप्ति नै निकालेर जे सुकै गर्नसक्ने भन्दै दिएको धम्कीले प्रेस स्वतन्ता र पत्रकारको सुरक्षामा गम्भीर प्रश्न उठेको संघको विज्ञप्तिमा उल्लेख छ ।

पालिकाखबरडटकम र दैनिकी डटकममा सो गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको ५० लाख रुपैयाँ र वडा नं २ सँग रहेको ३ लाख रुपैयाँ गरी जम्मा ५३ लाख रुपैयाँ नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नं २ बाट हराएको सम्बन्धी खबर प्रकाशन प्रसारण भएको थियो ।

संघले रकम चोरी भएको सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग ती अनलाइन संचारमाध्यमले आवश्यक कुरा गरी उनीहरुको भनाई पनि समावेश भएको, रकम हराएको सन्दर्भमा गाउँपालिले प्रहरी प्रशासनलाई खोजी गर्न आग्रह गर्दै पत्राचार गरेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि चासो देखाएको समाचारबाट पुष्टि हुने भन्दै धम्की निन्दनीय भएको बताएको हो ।

अध्यक्ष तामाङको सो विज्ञप्तिमा उल्लेख भएको ‘कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको’ भन्ने भनाईले पत्रकार र संचारमाध्यममाथि नै जुनसुकै प्रकारको अक्रमण हुन सक्ने डर भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे त्यसको न्यायिक निरुण गर्ने प्रक्रियागत तथा कानुनी उपचार हुँदाहुँदै ‘जुनसुकै तबरले उपचार खोज्ने’ अध्यक्ष तामाङको धम्कीले प्रेस स्वतन्त्रता, विधिको शासन तथा कानुनी राजमाथि नाङ्गो हस्तक्षेप हुने र समाचार लेखेकै आधारमा पत्रकारमाथि भौतिक आक्रमण हुनेसम्मको खतरा देखिएकोले त्यस्तो धम्की दिने अध्यक्ष तामाङमाथि कारबाही गरी स्वतन्त्र पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, कानुनी राज र विधिको शासन स्थापित गर्न तथा पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील रहन हामी संघीय सरकार समक्ष जोडदार माग गर्दछौं ।’

यस्तो छ नेपाल पत्रकार महासङ्घकाे प्रेस विज्ञप्ति

 

सञ्चारमाध्यम र पत्रकारलाई लक्षित गर्दै धम्की दिएको घटनाप्रति महासंघको आपत्ति
मितिः २०७८।०२।२९

प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले प्रेस विज्ञप्ति निकालेर सञ्चारमाध्यम र पत्रकारलाई लक्षित गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । जेठ २६ गते पालिकाखबर डटकम र दैनिकी डटकममा उक्त गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको पैसा हराएको सम्बन्धी समाचार प्रकाशित गरेपछि अध्यक्ष तामाङले प्रेस विज्ञप्ति जारी गर्दै ‘कानुनी लगायत अन्य जुनसुकै तबरले उपचार खोज्न आफू तयार रहेको’ भन्दै सोको प्रतिवादको तयारी अवस्थामा रहन चुनौती दिँदै दुवै अनलाईन र पत्रकारलाई धम्कीपूणर् भाषा प्रयोग गरी धम्क्याइएको थियो ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा वहाल रहेका अध्यक्षजस्तो जिम्मेवार व्यक्तिबाट धम्की दिनु आफैंमा आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यस्ता धम्कीको कडा भर्त्सना गर्दछ । र, धम्की दिनेमाथि कानुनी कारबाही गर्न तथा पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी/महासचिव

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..