पञ्चकन्या गाउँपालिकामा बृद्ध भत्ताको ५३ लाख चोरीमा प्रमुख र प्रशासकीय अधिकृतको मिलेमतो

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा बृद्ध भत्ताको ५० लाख रुपैया र कार्यालयमा भएको ३ लाख रुपैया गरी ५३ लाख रुपैया चोरीमा गाउँपालिका प्रमुख र प्रशासकीय अधिकृतको मिलेमतो देखिएको छ । गत चैतमा गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ रमेश र प्रशासकीय अधिकृत नरेश पुडासैनीको समेत संलग्नता रहेको पाइएको छ ।

चोरीको अनुसन्धान गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुबै जनाको मिलेमतोमा सामाजिक सुरक्षा भत्ताको रकम चोरी भएको निष्कर्ष निकालेको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रालयले गरिरहेको अनुसन्धानले प्रत्यक्ष रूपमा प्रशासकीय अधिकृत र अप्रत्यक्ष रूपमा पालिका अध्यक्षको संलग्ताको आधार प्राप्त भएको बताउनुभएको छ ।

प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई हामीले सोधपुछ गर्दा उहाँ भन्नु हुन्छ “हामी निर्दाेष छौं । यो अपवाह फैलाएको मात्र हो । हामीले समय मै मन्त्रालयमा जानकारी गराउन नसक्दा यो आरोप खेपेका हौं । हामी छिट्टै नै प्रेस बिज्ञप्ती सहित सत्य तथ्य कुरा प्रकाशन गर्नेछौं ।”

गाउँपालिकाको वडा नम्बर २ बाट सामाजिक सुरक्षा भत्ता चोरी गरिएको प्रकरणमा अध्यक्ष र गाउँपालिकाका प्रशासकीय अधिकृतको भूमिका शंकास्पद देखिएपछि मन्त्रालयले मसिनो ढंगले अनुसन्धान गरिरहेको छ । वडा कार्यालयका सचिव सरिता रावतसहितका ३ जना कर्मचारीले जिल्ला सदरमुकाम विदुरस्थित हिमालयन बैंकबाट भत्ता वितरणका लागि भनेर झिकेको ५० लाख र वडा कार्यालयमा भएको ३ लाख रुपैयाँ चैत २४ गते चोरी भएको थियो ।

चोरी भएको लामो समयसम्म गाउँपालिकाले घटनालाई गोप्य राख्न खोजेपछि मन्त्रालयले पालिका प्रमुखकै संलग्नतामा चोरी भएको निष्कर्ष निकालेको हो । पालिका प्रमुखको निर्देशनमा प्रशासकीय अधिकृतले बैंकवाट ५० लाख रुपैयाँ झिक्न सिफारिस गरेको गागज बैंकमा भेटिएको छ । १० लाख भन्दा बढी नगद झिक्न नपाउने र केन्द्रीय र स्थानीय सरकारको नीति अनुसार सामाजिक सुरक्षाको भत्ता सीधै बैंक खातामा पठाउने अभ्यास थालिसकेको अवस्थामा दुबै जनाको मिलेमतोमा ५० लाख रूपैयाँ नगद निकालिएको थियो ।

चोरीको घटना भएको साढे २ महिनापछि मात्र सार्वजनिक भएको थियो । गाउँपालिका अध्यक्ष तामाङले तीन कर्मचारीविरूद्ध मुद्दा दर्ता गरेर आफूहरू उम्किने बाटो खोजेको देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

चैत्र २४ गते राती यस घट्ना घटेपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा चैत्र २५ गते जानकारी गराएको र बैशाख ३० गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराई सामाजिक सुरक्षा ब्यवस्थामा के गर्न सकिन्छ भनि आशय सहितको दोस्रो पत्र मन्त्रालयलाई पठाउदा हाल सम्म कुनैपनि जवाफ नआएको जानकारी गराउदै ब्यक्तिगत चरित्र हत्या गर्ने मनसायले आएका समाचारहरु भ्रामक भएको र स्वयं आफैले पनि सत्य तथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै गाँउपालिका अध्यक्ष तेज बहादुर तामाङ (रमेश) ले आगामी दिनमा समाचार सम्प्रेषण गर्दा सत्य तथ्य कुरा पत्ता लगाई समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई अनुरोध गर्नुभएको छ ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..