शान्ति प्रक्रिया डिरेल हुने खतरा बढ्यो : प्रचण्ड

Capture 48

Capture 48

आन्दोलनरत् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा मात्र नभई अब उनले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको बताएका छन्। ‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’ शुक्रबार सो पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खबरदार त्यस्ता कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ।’

अहिले ६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले प्रतिनिधि सभाको असंवैधानिक कदमको विरोध गरेको उनले बताए। उनले अहिले देशका बिभिन्न भाग र काठमाडौंमा उर्लेको जनसागरलाई अदालतले पनि हेरेको उनले बताए।

काठमाडौंका विभिन्नस्थानबाट नाराजुलससहितको प्रदर्शनपछि प्रदर्शनी मार्गमा विरोधसभा गरियो। सभालाई सो समूहका दुबै अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे। विरोध सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन भएको बुझाउन प्रचण्डले लामो समय खर्च गरे। त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखे।

र उनले शान्ति प्रक्रिया नै डिरेल हुने हो कि भन्ने चिन्ता लागेको बताए। उनले भने, ‘म हिंसाको कुरा गर्दैन। फेरि जंगल जाने कुरा पनि छैन। तर मलाई शान्ति प्रक्रिया डिरेल हुन्छ कि भन्ने ठूलो चिन्ता छ।’ उनले प्रतिनिधिसभा विघटन देशलाई भड्खालोमै हाल्ने कदम भएको भन्दै यस्तो अरजाकताको साक्षी कोही बन्ने छैनन् भन्ने विश्वास रहेको बताए।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो मूल्य चुकाएर प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीको कदमले यो व्यवस्था नै संकटमा परेको जिकिर गरे। उनले एक कथा सुनाउँदै ओलीको आलोचनासमेत गरे। उनले भने, ‘माधवजी र झलनाथजीले मलाई भन्नु भएको छ। २०६२/०६३ मा गणतन्त्रका लागि आन्दोलन हुँदा पार्टीको बैठकमा उहाँ (ओली)ले नोट अफ डिसेन्ट लेख्नु भयो। उहाँ गणतन्त्र विरोधी हुनुहुँदो रहेछ। कुर्सी नै भाँच्छु हुन्नुहुन्थ्यो, अहिले संविधान नै भत्काउनु भयो। अहिले संविधान आईसीयूमा छ। हामी त्यसलाई कसरी बचाउने भन्ने चिन्तामा छौं। उहाँ ठट्टामजाक गरिरहनु भएको छ।’

प्रचण्डले कालीबहादुर खामको विषयमा पनि बोल्दै ओलीको आलोचना गरे। उनले खामलाई गलत तरिकाबाट मुद्दा लागेको र त्यसलाई सही ढंगबाट हल गर्नुपर्छ भनेर आफूले सँधै सहयोग गरेको बताए। उनले भने, ‘जनयुद्धका कमाण्डरलाई प्रचण्डले सहयोग नगर्ने, ओलीले सहयोग गर्ने हुन्छ? कोही पनि जनयुद्धका कमाण्डरहरु भ्रममा नपर्नु होला।’

Kantipath Media

यो छुट्टाउनु भो कि..