प्रहरीको यूएन मिसनमा सहभागी हुन लिइने प्रि–परीक्षाको प्रश्नपत्र नै ‘लिक’भएपछि

प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (यूएन मिसन) मा सहभागी हुने प्रहरी कर्मचारीका लागि लिएको आन्तरिक परीक्षा प्रश्नपत्र ‘लिक’ भएपछि परीक्षा विवादमा परेको छ ।

शनिबारको परीक्षाको प्रश्नपत्र लिक भएपछि परीक्षा नै एक घण्टा ढिलो गरी सुरु भएको थियो । ढिलो सुरु भएको परीक्षाको प्रश्नपत्रसमेत बाहिरिएको केही सहभागी प्रहरीको गुनासो छ ।

प्रहरी प्रधान कार्यालयले कोरोना भाइरसका कारण शुक्रबार र शनिबार गरेर चार सिफ्टमा परीक्षा सञ्चालन गरेको थियो । त्यसमध्ये शनिबारको दोस्रो सिफ्टको परीक्षाको प्रश्नपत्र बाहिरिएको परीक्षा दिने एक प्रहरी अधिकारीले जानकारी दिए ।

‘शुक्रबार पहिलो सिफ्टको परीक्षा साढे ११ बजे र दोस्रो साढे २ बजेदेखि सुरु भएको हो । शनिबारको तालिका पनि त्यही हो । तर, प्रश्नपत्र बाहिरिएको हल्लापछि शनिबारको दोस्रो सिफ्टको परीक्षा १ घण्टा ढिलो भयो,’ ती अधिकारीले भने ।

परीक्षामा सन् २०२२ को मिसनका लागि जाने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय जना सहभागी थिए ।

एउटै मिसनमा सहभागी हुन चार सिफ्ट गरेर चार प्रकारको प्रश्नपत्र बनाउनुसमेत अव्यावहारिक भएको कतिपय प्रहरीको भनाइ छ ।

प्रहरी प्रधान कार्यालयले मिसनमा सहभागी हुने प्रहरी कर्मचारीका लागि पारदर्शिता बनाउने भन्दै प्रि–परीक्षाको व्यवस्था गरेको हो । तर, प्रि–परीक्षाको प्रश्नपत्र नै ‘लिक’ हुनु गम्भीर कमजोरी भएको प्रहरी अधिकारी नै बताउँछन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..