बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बिहीबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार भएको छलफल भएको थियो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए ।

सांसदहरुले उठाएका प्रश्न र सुझावका बारेमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । उनले प्रदेश सरकारले प्रदेशका नागरिकहरुलाई केन्द्रमा राखेर कोरोना नियन्त्रण, उपचार र खोपको सुनिश्चितता हुने गरी सरकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको बताए ।

सांसदहरुले पेश गरेको नीति तथा कार्यक्रम माथिको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसद्मा पेश गरेको थिए । सभामुख श्रेष्ठले स्वीकृतिका लागि प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो । बागमती प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रम पास गर्न एमाले एकढिक्का भएको छ ।

शनिबार बिहान नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न पार्टीका प्रदेश सभा सांसदहरुलाई निर्देशन दिएका हुन् ।

नेतृ अष्टलक्ष्मी शाक्य निकट प्रदेश सभा सदस्य मुनु सिग्देलले बागमतीको नीति तथा कार्यक्रम पास गर्न बहुमत सदस्य रहेको एमाले एक ढिक्का हुने बताइन् । शाक्यले संसदीय दलको बैठकमा बागमती प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको दलका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए । नेकपा एमाले बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा एमालेका दुवै पक्षका सांसदहरु सहभागी भएका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..