आज ५ सय भन्दा धेरैलाई कारबाही : भोलीदेखि निषेधाज्ञा झन् कडा

गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार पहिलो दिन भएकाले धेरैलाई यसको प्रोटोकलबारे जानकारी नभएकाले दोस्रो दिनबाट कडाइ गर्ने बताए । उनले निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाहीमा ल्याउने समेत चेतावनी दिए ।

सरकारले जारी गरेको दुई साता लामो लकडाउन सुरु भएको पहिलो दिन विहीबार सुन्धरा, भद्रकाली र रत्नपार्कमा सयौं गाडी र मोटरसाइकलको जाम भएको थियो । परिचयपत्रधारी व्यक्तिहरु कार्यालय समयमा एकैपटक निस्किँदा जाम भएको बताइएको छ । बैंक तथा वित्तिय संस्था, सहकारी, सरकारी कार्यालय, सञ्चारगृहका कार्ड तथा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री ढुवानी गर्नेहरुलाई खुकुलो बनाइएका कारण एकाएक सयौं मान्छे सडकमा निस्किएका हुन् ।

कोरोना संक्रमण बढेपछि काठमाडौैं उपत्यकामा आज बिहान ६ बजेबाट निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालयहरूको निर्णयअनुसार सुरुमा एक हप्ताका लागि अर्थात् वैशाख २२ गते राति १२ बजेसम्मका लागि ‘लकडाउन’ गरिएको हो।

कडाइसाथ निषेधाज्ञा लागू गराउन बिहानैदेखि प्रहरी सक्रिय भएको छ। त्यसका लागि उपत्यकाका ५६ स्थानमा ट्राफिक र नेपाल प्रहरीले संयुक्त रूपमा चेकजाँच गरिरहेका छन्। काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरकाा ४ स्थानमा चेकजाँच भइरहेको काठमाडौं महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले जानकारी दिए।

निषेधाज्ञा कार्यन्वयनका लागि ३ जिल्लामा ३ हजार २ सय नेपाल प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ। नियम उल्लंघन गर्ने सवारीसाधान तथा सर्वसाधारणलाई प्रहरीले कारबाही गरिरहेको छ। प्रहरीका अनुसार बिहान १० बजे अगाडिसम्म ५ सयभन्दा बढी व्यक्ति कारबाहीमा परिसकेका छन्।

काठमाडौंमा २ सय ९ जना, ललितपुरमा २ सय १७ र भक्तपुरमा १ सय ७ जनालाई सडकमै केहीबेर उभ्याएर कारबाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। यस्तै १७७ दुईपांग्रे र ४१ वटा चारपांग्रे सवारीसधानलाई पनि प्रहरीले निन्त्रणमा लिएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..