९ बजेपछि रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट बन्द गर्न आग्रह

Club Deja Vu Kathmandu

Club Deja Vu Kathmandu

सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ । मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले ठुला सहरहरूमा एक हजार र साना शहरमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिए आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ । घरबाहिर जाँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न निर्देशन दिइएको छ ।

यस्तै, काठमाडौं, पोखरा लगायत ठुला सहरहरूमा विद्यालय जाने उमेर समूहमा संक्रमण दर बढेकाले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर सङ्क्रमणको उच्च सतर्कता अपनाउनु भनिएको छ । मानिसको भीड हुने स्थानमा अति कडाइको साथ स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..