राससको सम्पर्क कार्यालय दोलखामा

168250049 4041497352577733 7645460216864183148 n

राष्ट्रिय समाचार समिति (रासस)को नवस्थापित दोखला सम्पर्क कार्यालय आजबाट सञ्चालनमा आएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त कार्यालयको आज बिहान अवलोकन गर्दै कार्यालय खोलेकाप्रति खुशी व्यक्त गर्नुभयो ।

168250049 4041497352577733 7645460216864183148 n
उहाँले दोलखा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचुरता भएको जिल्ला भएकाले यस कार्यालयबाट यहाँका तमाम सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले आफ्नो हैसियतबाट राससलाई स्रोत साधन उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राससले समाज र मुलुकको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) र महाप्रबन्धक ओपेन्द्र शर्माले मन्त्री गुरुङलाई कार्यालयमा स्वागत गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष अधिकारीले उक्त कार्यालयलाई अब स्थानीय स्वामित्वको महत्वपूर्ण निकायका रुपमा स्थापित तथा विकास गर्न रासस सक्षम हुने भनाइ राख्नुभयो । महाप्रबन्धक शर्माले मन्त्रालय र भिमेश्वर नगरपालिका तथा जिल्ला समन्वय समितिको सहयोगका लागि आग्रह गर्नुभयो । उक्त सम्पर्क कार्यालयको प्रमुख प्रभु जिरेल रहनुभएको छ ।

औद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिँदै
बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ । औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ्कन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो ।

नगर प्रमुख अशोक चन्दका अनुसार मङ्गलबारदेखि प्राविधिक टोलीले औद्योगिक क्षेत्रका लागि छुट्टयाइएको जग्गामा गएर कार्य अगाडि बढाउन लागिएको हो । कार्य अगाडि बढाउनका लागि नगर प्रमुख, वडाध्यक्ष, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय, सामुदायिक वनका प्रतिनिधिसँग छलफल गरिएको छ ।

औद्योगिक क्षेत्रको कार्य छिटो छरितो तथा प्रभावकारी रुपमा अगाडि बढाउनका लागि डिभिजन वन कार्यालयलाई औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेडले रु आठ लाख १३ हजार रकम पेश्कीका रुपमा उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । बिल भर्पाइसहितको खर्चको फाँटबारी प्राप्त भएपछि फरफारक हुने गरी लागत अनुमानका आधारमा रकम डिभिजन वन कार्यालयका नाममा पेश्कीका रुपमा उपलब्ध गराइने जनाइएको छ । गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको थियो ।

औद्योगिक क्षेत्रको हालसम्म वन तथा वातावरण मन्त्रालयबाट वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिको बैठकबाट २४० दशमलब ३४ हेक्टर (३५५ दशमलव ७० बिघा) जग्गामा डिपिआर निर्माणको कार्य सम्पन्न गरी स्वीकृत भइसकेको छ । विसं २०७३ मा मन्त्रिपरिषद्को निर्णयबाट पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुमखोल्सा पश्चिममा साजगाड खोला, उत्तरमा चुरे वन क्षेत्र तथा दक्षिण तर्फ चाँदनीफाँटा बस्तीसम्मको ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि कायम गरिएको थियो ।

घोषणा भएको चार किल्लाभित्रको जग्गा जिल्ला नापी कार्यालयबाट नापजाँच गरी नाप नक्सा तथा फिल्डबुक तयार गरी करिब २९४ बिघा जग्गाको दर्ताको लागि मालपोत कार्यालयमा सिफारिससमेत गरिएको छ । आयोजनाको कूल लागत रु नौ अर्ब रहेको छ । औद्योगिक प्लटसङ्ख्या र क्षेत्रफल १०० प्लटमा रहने छ भने साना उद्योगका लागि २३ वटा प्लट छुट्याइएको छ ।

सोमा सातदेखि १० कट्टा जग्गाको व्यवस्था गरिएको छ । मझौला उद्योगका लागि ४४ प्लट छुट्याइएको र त्यसमा १० देखि २० कट्टा जग्गाको व्यवस्था रहेको छ । आयोजना पूर्वाधार निर्माण गर्न ०७७÷७८ देखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आद्यौगिक क्षेत्रमा अनुमानित रोजगारीको सङ्ख्या २२ हजार रहेको छ ।

आगलागीबाट महिलाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु भएको हो ।

साथै उक्त आगलागीमा परेर उहाँको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ ।

काभ्रेका तीन ठाउँमा आरोग्य केन्द्र स्थापना
‘निरोगी नेपाल’ निर्माणको नीतिअन्तर्गत यहाँ दुई नगरपालिका र एक गाउँपालिकाका तीन स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । पनौती र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकामा उक्त केन्द्र स्थापना गरिएको हो ।

प्रकृतिमैत्री स्वच्छ जीवन प्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहका सबै स्वास्थ्य संस्थामा नागरिक आरोग्य केन्द्र स्थापना गर्ने उल्लेख छ ।

नमूना कार्यक्रमका रुपमा पहिलो चरणमा मुलुकका २१८ स्थानीय तहमा सेवा केन्द्र स्थापना गर्ने निर्णयअन्तर्गत यहाँका तीन स्थानीय तह रहेका थिए । केन्द्रबाट सामान्य बिरामीको उपचारका साथै योग–अभ्यास गराउने, व्यायाम तथा जडीबुटीको प्रयोगबारे स्थानीयस्तरमा जनचेतना फैलाउने काम केन्द्रले गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा मनोजकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार केन्द्रबाट नेपाल सरकारले २२ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिनेछ ।

भुम्लुमा केही दिनअघि मात्र स्थापित केन्द्रमा स्थानीयको आकर्षण बढेको पाइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताउनुभयो । “अब अपुग औषधिको व्यवस्थापन गरी केन्द्रको सेवाबारे प्रचारप्रसारमा जुट्नेछौँ”, उहाँले भन्नुभयो । केन्द्रद्वारा सुत्केरी महिलाका लागि शक्तिवद्र्धक कुरिलोको पाउडर र बालबालिकाका लागि बालामृतसमेत प्रदान गरिने जनाइएको छ ।

सेवा केन्द्र स्थापनाका लागि स्थानीय तहले नै पूर्वाधारको व्यवस्था गर्नुपर्ने निर्देशिकामा छ । सरकारको सेवा केन्द्रसम्बन्धी निर्देशिका–२०७७ मा स्थानीय नागरिकलाई परम्परागत ज्ञान, सीप र मौलिक सम्पदाको संरक्षण गर्दै योग, ध्यान, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबाट सर्ने तथा नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि नागरिक आरोग्य सेवा केन्द्रले प्रमुख भूमिका खेल्ने उल्लेख गरिएको छ ।

घाइतेको उपचारका लागि मन्त्री आलेद्वारा एक लाख सहयोग
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते धु्रवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख उपचार खर्च प्रदान गर्नुभएको छ ।

हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर उहाँले उक्त रकम प्रदान गर्नुभएको निजी सचिव रविन ज्ञालनले जानकारी दिनुभयो । श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गैँडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते हुनुभएको छ, मैले पनि उपचारका लागि रु एक लाख सहयोग गरेको छु, उहाँको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ ।” सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने भनेर बताएपछि श्रेष्ठका परिवार मन्त्री आलेप्रति निकै खुशी भएका छन् ।

यसैगरी मन्त्रीसँग वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महानिर्देशक डा दीपक खराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीलगायतको टोली पनि घाइते श्रेष्ठ भेट्न अस्पताल पुगेको थियो । मन्त्री आलेले विगतदेखि नै बिरामी परेका तथा उपचार खर्च नपाएर समस्यामा परेका नागरिकलाई सधैँ सहयोग गर्दै आउनुभएकाले केही समस्या पर्दा पनि नागरिकले आलेलाई नै गुहार्ने गरेका छन् ।

अज्ञात समूहले लगाएको ताला प्रहरीले तोड्यो
हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मष्टादेव प्राविमा लगाइएको ताला प्रहरीले तोडेपछि पठनपाठन सञ्चालनमा आएको छ ।

बिदाको समयमा सबै कोठामा विद्यालयले ताला लगाएको भए पनि अज्ञात समूहले थप एक एक ताला लगाएको जनाइएको छ । गाउँटोल नजिकै भएकाले बेला बेलामा हेर्दा शनिबारसम्म ताला नलगाएको भए पनि शनिबार राति वा आइतबार बिहान कुन समयमा र कसले लगायो भन्ने जानकारी नहुँदा प्रहरीलाई खबर गरेको वडा नं २ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, शिक्षक र गल्फागाड प्रहरीचौकी श्रीनगरको टोलीको रोहवरमा ताला तोडिएको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..