म विरुद्ध सुनियोजित भ्रामक हल्ला चलाईयो, कानुनी लडाई लड्छु : सांसद श्रेष्ठ

विघटित प्रतिनिधिसभाका सदस्य श्याम कुमार श्रेष्ठ ‘कुशल’ ले विद्यालयको घेराबार निर्माणमा कमिसन लिएको आरोप लागेको छ । रामेछापबाट निर्वाचित संघिय सांसदलाई उक्त आरोप लागेपछि जिल्लामा सनसनी मच्चिएको छ ।

एक टेलिभिजनमा बिना प्रमाण समाचार सम्प्रेषण गरेपछि जिल्लावासीमा भ्रम पर्न गएको हो । रामेछाप नगरपालिका वडा नं ५ धारापानीस्थित रेणुकादेवी माध्यमिक विद्यालयमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विनियोजित ४० लाख मध्ये श्रेष्ठले २२ लाख कमिसन लिएको आरोप लागेको हो ।

यस विषयमा कान्तिपथसँग बोल्दै सांसद श्रेष्ठले भने, ‘सुनियोजित हल्लामा सांसद विकास कोष भनेर भनिएको छ तर खासमा त्यो स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गतको विनियोजित बजेट हो । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम संचालन कार्यविधिको निर्देशिका बमोजिम जिल्ला परामर्श समिति एवं निर्देशक समितिमा निर्वाचित संघिय सांसद संयोजक हुन्छन भने जिल्ला समन्वयका प्रमुख/उपप्रमुख, स्थानीय पालिकाका प्रमुख/उपप्रमुख हुन्छन । कुनै एक जना व्यक्तिले योजना छनोट गर्ने हैन समिति ले गर्ने हो ।’

समितिका सदस्यकै आफन्त नै तपाईको विषयमा प्रसारित समाचारको प्रचारमा लागेका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘त्यो विषय मलाई पनि अचम्म लागेको छ, कुनै पार्टीको सुनियोजित ढंगको प्रहार हो यो । तपाई आफै भन्नुस कुनै आयोजनामा ५५ % कमिसन लिन सम्भव छ ? ४० लाखको आयोजनामा २२ लाख कमिसन लियो भन्ने प्रायोजित हल्ला चलाईएको छ ।’

विनियोजित बजेट संघिय सांसद आफैले बाढ्दै हिड्ने कुरा नभएको सांसद श्रेष्ठले बताए । उनले भने, ‘बजेट स्थानीय तहको खातामा जान्छ, वडाअध्यक्ष र विद्यालय व्यवस्थापन समितिको सिफारिसमा निकासा हुने हो, यसमा म जोडिने ठाउं नै छैन। जनता टेलिभिजन जस्तो ख्याती प्राप्त राष्ट्रिय मिडियाले अपुष्ट स्रोतको हवाला दिंदै समाचार सम्प्रेषणले गर्नुले आफ्नो मानहानी र चरित्रहत्या भएको सांसद श्रेष्ठले बताए । उनले भने, ‘परिवर्तनका खातिर गोलीसँग भिडेर आएका मान्छे हौ, जनताको करमा कुनै र्याल चुहाउने कुरै हुदैन । म कानुनी लडाई लड्नेबारे परामर्श गरिरहेको छु । आर्थिक वर्ष २०७६/७७ मा विनियोजित बजेटको अप्रत्यासित हल्ला चलाएका छन् ।’

कान्तिपथसँग बोल्दै माओवादी केन्द्रका एक जिल्ला स्तरिय नेताले भने, ‘लगातार निर्वाचन जित्दै आएका श्रेष्ठको लोकप्रियताबाट विपक्षी हरु आत्तिएका छन्, पत्रकारको चुनाबमा हार्ने र चुनाब लड्छु भन्दै हल्ला चलाउदै हिड्ने, ठेकेदारका आसेपासेले सुनियोजित हल्ला चलाएका हुन् ।’ तथ्यहीन र भ्रामक समाचार प्रकाशन भएको भन्दै सांसद श्रेष्ठले त्यसको खण्डनमा प्रेस बिज्ञप्ति नै जारी गरेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..