सिन्धुपाल्चोक बाढी अपडेट : मृतकमध्ये ६ जनाको पहिचान

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये ६ जनाको पहिचान खुलेको छ । मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मृत्यु हुनेहरूमा हेलम्बु –२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षका गणेश ज्योति, हेलम्बु –३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु –७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु –६ का च्याङ्बा तामाङ र चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल छन् ।

हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको छ ।

त्यसैगरी अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगाएको छ । नाकोटे पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल समेत बाढीले बगाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मंगलबार दिउँसोदेखि मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियो रहेको ३ तले भवनको २ तलासम्म डुबाएको छ ।

सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ । बाढीबाट विस्थापित भएका दर्जनभन्दा बढी परिवारमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..