विपत व्यवस्थापन समितिको बैठक सिंहदरबारमा शुरु

सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्‍याएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबार सुरु भएको हो ।

बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिए । कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ ।

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी हराइरहेकामध्ये ८ जनाको शव फेला परेको छ । अझैं करिब ५० जनाभन्दा बढी हराइरहेका छन् । उनीहरुको खोजी जारी छ ।

अहिले नेपाली सेनाको हेलिकप्टरद्वारा उद्दार कार्य जारी छ । आज बिहानैदेखि घटनास्थलहरुमा प्रहरी टोली, सशस्त्र प्रहरीको टोली उद्दार कार्यमा जुटेका छन् । कतिपय स्थानमा हेलिकोप्टरबाट समेत उद्दार कार्य जारी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङका अनुसार ८ जनाको शव मेलम्ची आसपास भेटिएको छ । स्वास्थ्यमन्त्री तामाङका अनुसार, नाकोटे पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल समेत बाढीले बगाएको जानकारी दिए ।

सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मंगलबार दिउँसोदेखि मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियो रहेको ३ तले भवनको २ तलासम्म डुबाएको छ ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । बाढीबाट विस्थापित भएका दर्जनभन्दा बढी परिवारमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..