चिनियाँ सिनोभ्याक खोप इन्डोनेशियामा निकै प्रभावकारी

चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले विकास गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अहिले इन्डोनेशियाका स्वास्थ्यकर्मीहरूले लगाइरहेका छन् । चिनियाँ खोप क्लिनिकल परीक्षणको क्रममा पश्चिमा मुलुकको कोरोना खोपभन्दा निकै कम प्रभावकारी देखिएको थियो ।

इन्डोनेशियाको राजधानी शहर जकार्तामा गत जनवरीदेखि मार्चसम्मको अवधिमा एक लाख २८ हजारभन्दा धेरै चिनियाँ खोप लगाएका मानिसमा नियमित अध्ययन गरिएको थियो । सो अध्ययनका क्रममा सिनोभ्याक खोपको दोस्रो डोज लगाएको ७ दिनपछि खोपले ९८ प्रतिशतलाई कोरोना संक्रमण र ९६ प्रतिशतलाई अस्पतालमा भर्ना हुनबाट बचाउने गरेको पाइएको थियो । बुधबार इन्डोनेशियाको स्वास्थ्य मन्त्रालयका अधिकारी पन्ड्जी देवान्त्राले यो अध्ययनमा चिनियाँ खोप निकै प्रभावकारी पाइएको बताए ।

देवान्त्राका अनुसार ९४ प्रतिशत कर्मचारी लक्षणसहितको संक्रमणबाट बचेका थिए । यो नतिजा सो खोपको क्लिनिकल परीक्षणमा पाइएको भन्दा निकै राम्रो हो । यसअघि इन्डोनेशियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी सडिकिनले २५ हजार ३७४ मानिसको सानो समूहमा गरिएको अध्ययनमा पनि उक्त खोपको प्रभावकारिता सोही अनुसार रहेको पाइएको बताएका थिए ।

चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोनाभाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ ।

सिनोभ्याक खोप कोभिडका लक्षणयुक्त सङ्क्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको, अस्पताल भर्ना रोक्न ८५ प्रतिशत सफल देखिएको तथा कोभिडका बिरामीलाई सघन उपचार कक्षमा भर्ना हुनबाट रोक्न ८९ प्रतिशत सफल रहेको शुक्रबार सार्वजनिक गरिएको अध्ययनले देखाएको छ ।

चिलीमा सिनोभ्याक खोपको नमूना परीक्षणलाई सफल तुल्याउने चिलीका उप व्यापार मन्त्री रोड्रिगो यानेजले सञ्चारकर्मीसँग कुरा गर्दै चिली सरकारले सिनोभ्याकसँग गरेको सम्झौता उपयुक्त रहेको प्रमाणित भएको बताएको छ ।

दक्षिण अमेरिकी मुलुक चिलीमा हालसम्म करिब ११ लाख ३१ हजार मानिस कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने २५ हजार २७७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्री एनरिक पेरिसले नियमित पत्रकार सम्मेलनमा अघिल्लो साता कोभिडका बिरामीको संख्यामा ५ प्रतिशतले कमी आएको जानकारी दिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..