चिनियाँ हस्तक्षेप बन्द गर भन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शन

Protest against Chinese Visit अचानक चिनियाँ टोलीको नेपाल भ्रमणको विरोधमा राष्ट्रिय एकता अभियानले वालुवाटारमा प्रदर्शन गरेको छ।

‘चिनियाँ हस्तक्षेप बन्द गर, सरगरमाथा हाम्रो हो, ब्‍याक अप चाइना’ लगायतका नारा लगाउँदै उनीहरुले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन।

यस्तै नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ। सो टोली एयर चाइनाको जहाजबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

विमानस्थल उत्रिँदा चिनियाँ टोलीका सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पीपीई लगाएको देखिएको विमानस्थलस्थित एक सुरक्षा अधिकारीले बताए। काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ। कोरोना महामारीका कारण उनीहरू बाहिर नबसी दूतावासभित्रै बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

नेकपा विभाजनको कारण खोतल्ने र राजनीतिक स्थिरताका सम्भावना खोज्ने उद्देश्यले राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर हतारमा चिनियाँ टोली काठमाडौं उत्रिएको हो। बेइजिङबाट सिचुवानको चेङ्दु हुँदै काठमाडौं आइपुगेको पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चिनियाँ टोलीमा विभागका निर्देशकसहित चार जना रहेका छन्।

चिनियाँ टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेकपाको अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधि सभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठेरो अवस्था सिर्जना भएको छ। गत वर्ष राष्ट्रपति सीको भ्रमणको क्रममा भएका सम्झौता कार्यान्वयन हुन सकेका छैनन्, जसमा नेपाल पक्ष उदासिन देखिएको भन्दै बेइजिङ असन्तुष्ट छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..