आजसम्म चुनाब जित्न नसकेका श्रेष्ठ मन्त्री ताक्दै : २ पटक जित्ने किराँती ‘पाखा’ लाग्दै !

केहि समय अगाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका थिए। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादीका सबै सांसदले मन्त्री चाहेको बताए।

‘४/५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो’ उनले भने, ‘कुरा आदर्शको गर्ने तर चित्त चाँहि मन्त्री पाइन्छ कि पाइदैन भन्ने छ।’ प्रचण्डले नरबहादुर कर्मचार्यको आदर्शबाट पार्टी नेता कार्यकर्ताले सिक्नुपर्ने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)बाट २ जना मन्त्री नियुक्त भइसकेका छन्। जसमा अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल छन्। देउवाले एक महिनाभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने भएकाले उनले विश्वासको मत लिएपछि मात्र सरकारमा जाने तयारी माओवादीले गरेको छ। संविधानमा बढीमा २५ जनाको मात्र मन्त्रिपरिषद् बनाउन पाउने व्यवस्था भएकाले त्यसलाई उल्लंघन गर्न मिल्दैन।

माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुनेगरी मन्त्री बनाउने तयारी गरेको छ। जसअनुसार स्थायी समितिमा रहेका नेताहरुमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम मन्त्रीका रुपमा चर्चामा छ। यीमध्ये श्रेष्ठले उपप्रधानमन्त्रीसहित सरकारमा जाने इच्छा देखाएको माओवादी स्रोत बताउँछ। सुदन किराती, सन्तकुमार थारु र महेश्वर गहतराजको नामसमेत मन्त्री हुने चर्चामा रहेको माओवादी केन्द्रका एक नेताले बताए।

मधेशबाट यसपटक मन्त्रीका लागि अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ। महिलाबाट पम्फा भुसाल मन्त्री भइसकेकाले अब बढीमा २ जना महिला नेताले मन्त्री हुने अवसर पाउने बताइन्छ। त्यसो भएमा जयपुरी घर्ती, अन्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ। नारायणकाजी श्रेष्ठ मन्त्री नभएमा उनको समूहबाट अन्जना बिशंखे र शशि श्रेष्ठमध्ये एक जना मन्त्री हुन सक्ने देखिएको छ। नारायणकाजी मन्त्री भएमा चाहिँ जयपुरी घर्तीको मन्त्री बन्ने सम्भावना बलियो छ।

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा चुनावमा गण्डकी प्रदेशबाट निर्वाचित भए। तर प्रतिनिधिसभामा पराजित भएको व्यक्ति त्यही प्रतिनिधिसभाको कार्यकाल अवधिभर मन्त्री बन्न नहुने संवैधानिक व्यवस्थाका कारण उनी संघीय संसदको सदस्य भए पनि मन्त्री बन्न पाउँछन् कि पाउँदैनन् भन्ने बहस सुरु भएको छ। श्रेष्ठलाई मन्त्री बनाउन हुने कि नहुने भन्ने विषयमा माओवादी भित्रैका कानुन पृष्ठभूमिका नेताहरुसमेत विभाजित छन्।

हाल प्रतिनिधिसभाका रहेका ४९ सांसदमध्ये दुई पटक प्रत्यक्ष निर्वाचन जितेर पनि मन्त्री बन्न पाउने सांसद भने एकजना सुदन किरातीमात्र बाँकी छन् । मन्त्रीको नाम टुंग्याउन पटकपटक बोलाइएको माओवादी स्थायी कमिटी बैठक पनि मुख्य एजेण्डामा अनिर्निणित बनेको छ । मन्त्री बनाउने मापदण्ड नहुँदा कतिपयले पटक-पटक मौका पाउने र दुई तीन पटक चुनाव जितेकाहरूले अवसर नपाउने अवस्था रहेको माओवादी नेताहरू बताउँछन् ।

माओवादीबाट सरकारको नेतृत्व गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महरा दुवैले दावी गरेका छन् । नारायणकाजीलाई मन्त्री बन्नबाट रोक्न उनकै गृहजिल्लाका नेताहरूसमेत प्रचण्ड निवास धाएको बाहिरिएको छ ।

सुदन किराती पनि यिनै मध्येका एक हुन् । भोजपुरबाट २ पटक प्रत्यक्ष निर्वाचित भइसकेका सांसद किराती जुझारु र हक्की स्वभावका युवामा पर्छन् । प्रदेश १ कै जनजाती समुदायबाट क्षमतावात नेता किराती नेतृत्वको गलत शैलीका कटु आलोचक पनि मानिन्छन् । सरकारमा पार्टीबाट समावेशी प्रतिनिधित्व गराउन पनि सुदनलाई मन्त्री बनाउन पार्टी नेतृत्वमाथि दबाब छ ।

२०६४ को संविधानसभा चुनावमा शेरधन राईलाई हराएर सदनमा पाइला टेकेका किराती दोस्रो संविधानसभामा तिनै राईसँग पराजित भए । २०७४ को प्रतिनिधिसभा चुनावमा वाम गठबन्धनको तर्फबाट ३४ हजार ३९४ मत ल्याएर किरातीको जित भएको थियो । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत ल्याएका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..