संसद विघटनको मुद्धा : विपक्षीका नाममा कारण देखाऊ आदेश, असार ९ देखि निरन्तर सुनुवाई

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा असार ९ गतेबाट निरन्तर सुनुवाइ हुने भएको छ । काँग्रेस सभापति शेरबहादुर देवासहितका सांसदको रिटमा प्रारम्भिक सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले असार ९ बाट निरन्तर सुनुवाइ गरिने बताएका हुन् ।

सांसदहरुको रिटमा बुधवार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको छ । प्रधानन्यायाधीशसहितका पाँच न्यायाधीशले आन्तरिक छलफल पछि लिखित आदेश आउने जानकारी गराएका छन् । ‘केही बेरमा लिखित आदेश आउँछ,’ संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने–‘लिखित आदेश लिएर जानुहोला ।’

न्यायाधीश ईश्वर खतिवडाले २९ वटा रिट एकातिर र शेरबहादुर देउवासहितका सांसदहरुको रिट एकातिर राखेर सुनुवाइ गरिने इजलासमा जानकारी गराएका छन् । सं‍वैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्। सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। अदालतले उनीहरूसँग लिखित जवाफ मागेको छ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाएर मुद्दा दायर भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गरेकी थिइन्। प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वाेच्च अदालतमा ३० थान मुद्दा छन्। यसअघि गएको पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनलाई सर्वाेच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..