श्रेष्ठले सपथ ग्रहण गरे

surashप्रदेश ३ को लोक सेवा आयोगको अध्यक्षमा नियुक्त भएका सुरेशमान श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रदेश प्रमुख विष्णु प्रसाईले श्रेष्ठको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण पछि प्रतिक्रिया दिँदै लोक सेवा आयोग अध्यक्ष श्रेष्ठले आयोगको गरिमालाई कायम राख्ने गरी काम गर्ने बताए । प्रदेश ३ लोक सेवा आयोगले निस्पक्ष ढंगबाट योग्य व्यक्तिहरुको छनौट गर्ने उनले प्रतिवद्धता जनाए । ‘प्रदेश लोक सेवा ऐन अनुसार निष्पक्ष रुपमा काम गर्नेछौं,’ उनले भने,‘प्रदेश ३ मा लोक सेवा आयोगको गरिमा कायम रहने गरी काम हुन्छ । योग्य, सक्षम र उपयुक्त व्यक्तिहरु तोकिएको विधि र प्रक्रियाबाट हामी छनौट गर्नेछौं ।

आयोगमा एक महिला सहित २ सदस्यको सिफारिस भने भएको छैन । आयोगलाई पूर्णता दिन आवश्यक छलफल गर्ने उनले बताए । मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा गठित सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ सम्मिलित ३ सदस्यीय समितिले अध्यक्षमा श्रेष्ठलाई कात्तिक २९ गते सिफारिस समितिले सिफारिस गरेको थियो भने सोही दिन प्रदेश प्रमुखले नियुक्त गरेका थिए । प्रदेश लोक सेवा आयोग विधेयक पारित भएको २ महिना पछि प्रदेश ३ को अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन् ।

भदौ २४ गते पारित भएको लोक सेवा आयोग सम्बन्धी विधेयक असोज २८ गते तत्कालिन प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रमाणिकरण गरेकी थिइन् । एक महिलासहित तीन सदस्यीय आयोगमा अन्य दुई सदस्य भने टुंगो लागेको छैन । अध्यक्षमा नियुक्त श्रेष्ठले ३२ वर्षसम्म निजामती सेवामा बिताएका छन् । उनी श्रम तथा रोजगार मन्त्रालयको सचिवसमेत बनेका थिए । लमजुङको दुराडाँडामा २०१५ साल जन्मिएका श्रेष्ठ २०४१ सालमा नेपाल  सरकारको शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए । हाल काठमाडौंको गोंगबु बस्दै आएका श्रेष्ठले एमएससी र एमपीए गरेका छन् ।

प्रदेश लोक सेवा आयोग गठन भइसकेपछि प्रदेशलाई आवश्यक कर्मचारीको भर्ना छनौट गर्ने बाटो खुल्ने छ । प्रदेश निजामती सेवा, प्रदेश अन्य सरकारी सेवा, स्थानीय सरकार सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान व्युरो, प्रदेश संगठित संस्थाको सेवा तथा स्थानीय तहको संगठित संस्थाको सेवाको पदमा कर्मचारी छनोटका लागि आयोगले काम गर्नेछ । आयोगको अध्यक्ष हुन कम्तिमा २० वर्ष सरकारी सेवामा भएको व्यक्ति हुनुपर्ने प्रस्ताव गरिएको छ ।

साथै अध्यक्ष वा सदस्य हुन स्नात्तकोत्तर उपाधि प्राप्त गरेको, अध्यक्ष हुन ४५ वर्ष र सदस्य हुन ३५ वर्ष उमेर पूरा भएको हुुपर्ने कानूनी व्यवस्था छ । प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्ष तोकिएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..