जातीय दुर्व्यवहार गर्दै अभिभावकले दलित शिक्षक कुटे

बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित जनता माविका शिक्षक नेत्रबहादुर रम्तेलमाथि एक अभिभावकले जातीय दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् । गौरीडाँडाकै मनीष अर्यालले शिक्षक रम्तेलमाथि जातिसूचक शब्दहरू प्रयोग गरी दुव्र्यवहार गर्दै कुटेका हुन् ।

शिक्षक रम्तेलले शुक्रबार आफूमाथि भएको जातीय विभेद र कुटपिटविरुद्ध उनले प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाएको छ । २७ वर्षदेखि अध्यापन गराउँदै आएका रम्तेल सो विद्यालयका पूर्वप्रधानाध्यापकसमेत हुन् । हाल उनी प्राविधिक धार, दश प्लस दुई र अन्य संकायका इन्चार्ज छन् ।

बिहीबार साढे ४ बजेतिर विद्यालयपरिसरमै आएर अर्यालले विद्यार्थीलाई मधेसी र पहाडेका रूपमा विभाजित गराएको आरोप लगाउँदै दुव्र्यवहार सुरु गरेका थिए । त्यसक्रममा उनले सर्टको कलर समातेर लछारपछार गर्दै कुटपिट गरेका थिए । शिक्षक रम्तेलको कोर्ट, सर्ट र गन्जी च्यातिएको छ । अर्यालले ढुंगाले समेत हिर्काएका थिए ।

विद्यालयका वरिष्ठ शिक्षासेवीलाई दुव्र्यवहार भएको देखेपछि नजिकै रहेका अन्य शिक्षक, अभिभावक र विद्यार्थीले अर्याललाई समातेर प्रहरीलाई बुझाएका थिए । तर, प्रहरीले केहीबेरमै छाडेको थियो । अर्याललाई छाडेको थाहा पाएपछि अभिभावक, शिक्षक र विद्यार्थीहरूले इलाका प्रहरी कार्यालयमा नाराबाजी गर्दै ढुंगामुढा गरेपछि प्रहरीले पुनः गिरफ्तार गरेको थियो । नयाँ पत्रिका

Kantipath Media

यो छुट्टाउनु भो कि..