राहतमा बाँडियो कुहिएको चामल, स्थानीयवासीले गरे फिर्ता

date ex rice

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्देशन दिएको छ ।

नगरपालिकाले राहत भन्दै दिएको चामल कुहिएकाले वडाध्यक्षलाई फिर्ता दिइएको रामग्राम–६ का सोहन केवटले बताए । “हामीले खानै नसक्ने सडेको चामल दिइएको छ, तौलमा पनि कम छ, सोयाबिनमा पनि कीरा परेको छ, हामीले कसरी खाने ?”, उनले भने ।

नगरपालिकाले पहिलो चरणमा दश किलोको दरले चामल वितरण गरेको थियो । त्यसमा पनि आधादेखि एक किलोसम्म तौलमा कमी भेटिएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाले राहतका नाममा मजदुर वर्गको स्वास्थ्यमाथि खेलबाड गरेको आरोप स्थानीयवासी सुरेन्द्र कोहाँरले लगाए ।

राहतस्वरुप वितरण गरिएको चामल, स्वायबिन लगायत गुणस्तरहीन भेटिएपछि राहत पाएका रामग्राम–३,६ र ११ का अधिकांशले वडाध्यक्ष तथा नगरपालिकामा लगेर फिर्ता गरेका हुन् । नगरपालिकाले राहत वितरणमा गम्भीर त्रुटि गरेको आरोप समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले लगाए ।

अहिलेको अवस्थामा सङ्कटको बेला फाइदा उठाउन खोज्ने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीेले माग गरे । नगरपालिकाले लकडाउनका कारण प्रभावित बनेका नगरका दुई हजार ३०० अतिविपन्न तथा मजदूर वर्गलाई बिहीबारदेखि पहिलो चरणको राहत वितरण थालेको हो । पहिलो चरणमा प्रतिपरिवार दश किलो चामल, एकएक किलो दाल र नुन, आधा किलो सोयाविन र दुई साबुनको दरले राहत वितरण गरिएको हो ।

नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले चामलको गुणस्तरमा गुनासो आएकाले आवश्यक जाँचबुझ अघि बढाइएको बताए । “यसमा त्रुटि भएको भए नैतिक रुपमा नगरपालिकाका तर्फबाट म जिम्मेवारी लिन्छु, यसलाई सुधार गर्ने प्रक्रिया हामी अगाडि बढाउँछौँ, बाँडेको सबै चामल आजै(शुक्रबार) नगरपालिकामा झिकाएर गुणस्तर जाँच गर्छाैँ र गुणस्तर चामल वितरण गर्छाैँ ।”

Kantipath Media

यो छुट्टाउनु भो कि..