बसपार्क सञ्चालन नहुँदा पार्किङ समस्या

new busparkकैलालीको टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि बसपार्क सञ्चालनमा आउन नसक्दा पार्किङमा समस्या हुन थालेको छ ।

सङ्घीय सहकारी आयोजना कार्यान्वयन एकाइ धनगढी कार्यालयमार्फत बसपार्कको निर्माण सम्पन्न भएको हो ।

बसपार्क सञ्चालनमा नआउँदा यात्रुवाहक सवारी साधन पार्किङका लागि समस्या हुँदै आएको भए पनि नगरपालिकाको ढिलासुस्तीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

रु आठ करोड २८ लाखको लागतमा निर्माण सम्पन्न भएको बसपार्क सधैँ खाली देखिन्छ भने बाहिर सडकका छेउछाउमा सधैँ सवारी साधनको चाप देखिने गरेको छ ।

दैनिक एक सयभन्दा बढी यात्रुवाहक सवारी साधनहरु टीकापुर आउने जाने गर्दछन् । ती सबै सवारीको पार्किङ स्थल सडक छेउ नै हो ।

रिभर साइड यातायात प्रालिमा काम गर्दै आएका गोकर्ण धमलाले बसपार्कको बोलपत्र भई कार्यान्वयनमा नआउँदा पार्किङको धेरै ठूलो समस्या रहेको बताउँदै दुर्घटनाको जोखिम पनि बढेको बताउनुहुन्छ ।

उहाँ सडकमा सवारी साधन पार्किङ गर्दा पार्किङ गरिएका सवारीमा गाडीहरु ठोक्किएर कैयौँ दुर्घटनाहरु भएको बताउनुहुन्छ ।

सुदूरपश्चिम यातायात प्रालि टीकापुर काउन्टरमा कार्यरत भरत हमालले बसपार्क नभएका कारण यात्रुकसमेत अलमलमा पर्ने गरेको बताउनुभयो । “बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था छैन । सवारी चालकहरुले कताकता लिएर सवारी साधन लिएर पार्किङ गर्नुपर्ने अवस्था छ”, हमालले भन्नुभयो, “यसले यात्रुहरु पनि अलमलमा छन्, कहाँ गएर बस चढ्ने भन्नेमा ।”

टीकापुर नरगपालिकालाई बसपार्क निर्माणको जिम्मा पाएको राजेन्द्र रोयल जेभीले बसपार्क निर्माण सम्पन्न गरी गत भदौ ३ गते नै हस्तान्तरण गरेको थियो ।

नगरपालिकाले बसपार्कको चाभी ग्रहण गरे पनि बसपार्कमा सम्भावित जोखिमका कारण निर्माण कम्पनीले अझैसम्म आफ्नो एकजना कर्मचारीलाई बसपार्कमै खटाएको छ ।

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बसपार्कको बोलपत्र प्रक्रिया शुरु भएको बताउँदै अबको केही दिनमा बसपार्क सञ्चालनमा आउने बताउनुभएको छ ।

बसपार्कसँग जोडिएको छ लेनको सडक निर्माणको काम चलिरहेको अवस्थामा बसहरु पार्किङमा झनै समस्या आएको चालक विकास चौधरी बताउनुहुन्छ ।

अत्याधुनिक तवरले निर्माण गरिएको भनिएको बसपार्कको उचित संरक्षण हुन नसक्दा ठाउँठाउँमा टायलहरु भत्किन थालेका छन् ।

नगरपालिकाले दुई वर्ष पहिले निर्माण गरेको सिटी बसपार्क पनि सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाले सिटी बसपार्क निर्माणका लागि रु २० लाख खर्च गरेको थियो ।

वडा कार्यालयको सेवा अर्र्को जिल्लाबाट
‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भनिए पनि शीतगङ्गा नगरपालिका–११ को वडा कार्यालयको सेवा भने कपिलवस्तु जिल्लाको इमिलियाबाट प्रदान गरिन्छ । ‘

वडा कार्यालय खयरभट्टीमा रहेको छ भने धेरैजसो सेवा कपिलवस्तुको इमिलियाबाट दिनुपर्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ ।

कपिलवस्तुसँग सिमाना जोडिएको यस वडाको मौवाबारी, दोबाटो, फोर्सल, खयरबट्टीलगायत गाउँबाट सेवाग्राही इमिलिया आउँछन् । यी गाउँबाट खयरबट्टीको कार्यालय पुग्न पाँचछ घण्टा पैदल हिँड्नुपर्छ । त्यहाँ गएर सिफारिस बनाएर फर्कंदा दिनभर समय लाग्छ । इमिलियाबाट सिफारिस लिएर एकै दिनमा नागरिकता बनाउन सदरमुकाम पुग्न सेवाग्राहीलाई सजिलोका लागि इमिलिया वडा कार्यालय राखिएका आलेको भनाइ छ ।

विकास बजेटलगायत अन्य छलफल पनि यहीँ नै हुन्छ । वडाध्यक्ष कपिलाचन्द्र आलेले भन्नुभयो, “वडा ठूलो छ । बस्ती यत्रतत्र छरिएको छ । मानिसहरुलाई खयरभट्टी जानभन्दा राजमार्गमा रहेको इमिलियामा आउन सजिलो हुन्छ । धेरै काम यतैबाट गर्ने गर्छौं ।”

धेरै जङ्गल क्षेत्र, छरिएर रहेको बस्ती पैदल हिँडेर पार गरेर खयरबट्टी जानुभन्दा कपिलवस्तु झर्न सजिलो हुन्छ । जिल्लाकै २७ प्रतिशत भूगोल क्षेत्र ओगटेको सिद्धारा गाविसलाई नयाँ संरचनामा तीन वडामा विभाजन गरिए पनि स्थानीयवासीले सरकारी सेवा सहजै पाउन कठिन छ ।

पोल गाडिएको र केही स्थानमा तार तानेको पनि वर्षौं भइसके पनि खयरबट्टी गाउँमा विद्युत् पुगेको छैन । पञ्जीकरणका कामहरु जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, सम्बन्धविच्छेद र बसाइँसराइका घटनाहरु अनलाइन प्रणालीमा राख्न समस्या छ ।

खयरभट्टी कार्यालयमा सातामा तीन दिन बस्ने भनिए पनि यताका सेवाग्रहीले सेवा पाउनबाट वञ्चित भएकाले समस्या भएको छ । सचिव मोदनाथ ज्ञवालीको जिम्मामा वडा ११ र १४ छ ।

इमिलियाबाट वडा १४ को कार्यालय पावरा पुग्न करीब ६५ किमी दूरी छ । दुवैतिरको जिम्मेवारी पूरा गर्नुपर्दा दौडधुप धेरै भएको ज्ञवालीले बताउनुभयो । सातामा तीन दिन एउटा र तीन दिन अर्काे वडाको काम गर्नु परेको उहाँको भनाइ छ ।

क्षेत्रफलका हिसाबले शीतगङ्गा सम्भवतः देशकै ठूलो नगरपालिका हो । यहाँबाट जिल्ला सदरमुकाम पुग्न करीब ७३ किमी छ । यहाँबाट खयरबट्टी रिक्सा चल्छन् । एक यात्रुको भाडा दुई सय तिर्नुपर्छ । जीप, बस जाने बाटो भए पनि दैनिकरुपमा गाडी भरिने गरी यात्रु नपाइने भएकाले सवारी साधन जान मान्दैनन् ।

त्यसले यो ठाउँ अपायक रहेको मौवाबारीका स्थानीयवासीको गुनासो छ । एउटा नागरिकता बनाउन सिफारिस लिनका लागि वडा कार्यालय पुगेर फर्कंदा तीन दिनको समय लाग्ने गरेको उनीहरुको भनाइ छ ।

विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रम पोख्ररेल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गर्नुभएको छ । यहाँ आज पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले पार्टी एकता, कम्युनिष्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन अनुरोध गर्नुभयो ।

विगतमा कम्युनिष्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत भएको जनाउँदै उहाँले जनतामाझ भएका यथार्थ लैजानसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ पार्टी एकताका पक्षमा गरेका सम्झौता र केके कार्यान्वयन भए, नभएका किन भएनन् भनेर जान म पार्टी नेतृत्वलाई आग्रह गर्दछु ।”

आरोपप्रत्यारोपले कम्युनिष्ट आन्दोलनका उपलब्धि पूरा नहुने भएकाले नेतृत्वलाई कसैलाई तुच्छ वचनले गाली नगर्न समेत उहाँले आग्रह गर्नुभयो । पार्टीको बैठक महासचिवले अध्यक्षको सहमतिमा बोलाउने र निर्णय गर्ने विधि भएकाले केपी शर्मा ओली अध्यक्ष भएको पार्टी नै वैधानिक भएको जिकिर उहाँले गर्नुभयो ।

तत्कालीन नेकपा(एमाले)ले २०७२ सालको भूकम्पबाट खुला आकाशमुनि बस्न बाध्य सयांैँ नागरिकलाई घर बनाएर बासको व्यवस्था गराएको स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले देश र जनता कोरोनाले ग्रस्त भएका बेलामा पार्टी कहाँ थियो भनी प्रश्न गर्नुभयो ।

उहाँले सरकारले राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा गरेका कामको प्रचार गर्न आग्रह गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने महान् अभियानमा लाग्न तथा आवेग र उत्तेजनाको पछि नलाग्न कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..