पर्यटकको चहलपहल बढ्दै

वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् ।

लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत वेशभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो । पदयात्राको लागि दैनिकजसो सरदरमा २०÷२५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा देखिएको प्रहरीले जनाएको छ । चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी यथास्थानमा परिणत भइ स्नान गर्न सहज वातावरण भइसकेकाले गोसाइँकुण्डतर्फ बढी मात्रामा पर्यटक केन्द्रित हुनथालेका छन् ।

भगवान शङ्कर विराजमान रहनुभएको र कुण्डमाथीका अग्ला हिमालले थप मनमोहक बनाउने भएका कारण नेपाली मात्र होइन विदेशी पर्यटकको भ्रमण गोसाइँकुण्डतर्फ हुनथालेको छ । विदेशी पर्यटकको हिमाली पदयात्राको पहिलो रोजाइ गोसाइँकुण्ड रहेको पथप्रर्दशक राजु गुरूङले जानकारी दिनुभयो । एक वर्षपछि पहिलो पटक गोसाइँकुण्ड आएका रुसी पर्यटकको समूह धुञ्चेमा भेटिएपछि फोटो खिच्नेको लर्काे लागेको थियो । गत हप्ता ती पर्यटक गोसाइँकुण्ड गएका थिए । उनीहरूलाई पिसीआर परीक्षण गराइ भ्रमणमा ल्याएको बताउँदै नेपाल कैलास ट्रेकका प्रबन्धक मैपी गुरूङले आगामी दिनमा पनि भ्रमणका लागि विदेशी पर्यटकले बुकिङ गर्न थालीसकेको जानकारी दिनुभयो ।

धार्मिक यात्रु एवं पर्यटकलाई सर्वसुलभ तबरले खान बस्ने व्यवस्था मिलाउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले होटल तथा लजमा खाना बस्नको लागि शुल्क निर्धारण गरीसकेको, सुरक्षाका लागि आवश्यक स्थानमा पर्यटक प्रहरी र नेपाल प्रहरी परिचालन भइरहेको र रसुवाको भ्रमणमा खान बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष रामशरण गजुरेलले जानकारी दिनुभयो ।

नेपालको तेस्रो गन्तव्य मानीएको लाङ्टाङ पदमार्गमा पनि थोर बहुत पर्यटक ओहरदोहर भइरहेको र पर्यटकको आगमन सङ्ख्या बढ्ने अपेक्षाका साथ पदमार्गका सबै होटल सञ्चालनमा आइसकेको होटल व्यवसायी सङ्घले जनाएको छ ।

‘शिक्षाका लागि साइकल’ का यात्री बस्न्यात सम्मानित
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ‘पेडल फर एजुकेशन’ नारासहित दोलखादेखि दिपायलसम्म साहसिक साइकल यात्रा गर्ने देवेन्द्र बस्न्यातलाई विहिबार प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको आयोजनामा भएको सो कार्यक्रममा शताब्दी पुरुष जोशीले बस्न्यातले समाज सेवाका लागि सबैलाई जागृत बनाएको बताउनुभयो ।

कार्यक्रममा वक्ताहरूले दोलखाको राजकुलेश्वर सामुदायिक विद्यालयको निर्माण तथा डडेलधुराको पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउन दोलखादेखि दिपायलसम्मको साहसिक एकल साइकल यात्रा गर्ने बस्न्यातको चर्चा गर्नुभयो । हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले यस पटकलाई परोपकारी साइकल यात्रा समापन भएको बताउँदै १२ सय किलोमिटरको साहसिक तथा एकल यात्रा गर्ने देवेन्द्रको प्रशंसा गर्नुभयो । सो अवसरमा हेल्प नेपालका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र, संस्थाका सल्लाहकारहरू शङ्कर कोइराला, विजय राजभण्डारी, साइकल यात्री देवेन्द्र र संस्थाकी सचिव लता घिमिरेले आ–आफ्नो धारणा राख्नुभयो ।

आगलागीबाट पाँच घर जले
नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय नाँैधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हुन् । घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत जलेका छन् ।

गए राति भएको सो घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ । नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो ।

आगलागी हुँदा घर र गोठ नष्ट

दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा शुक्रबार आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर पूर्ण रुपमा क्षति पुगेको छ ।

डाँडाकाहुँको भीरमा रहेको जङ्गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन् । आगलागीबाट स्थानीय शेरप्रसाद गौतम, रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारयण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्षति पुगेको छ त्यसैगरी स्थानीयका १५ वटा गोठ जलेर पूर्ण रुपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो । घरवारविहीन भएका अहिले आफन्तकोमा आश्रम लिएर बसेका छन् ।

आगालागीबाट पूर्ण क्षति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी अन्य सामान्य क्षति पुगेकालाई टेण्ट र त्रिपाल वितरण गरिएको उहाँले बताउनुभयो । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि केही पशुचौपाया मरेका छन् । आगो नियन्त्रणका लागि पर्वतको सदरमुकाम कुश्मा बजारबाट २१ जना सशस्त्र प्रहरी र २१ जना नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । आगो राति अबेर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..