चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ अझै सुनसान

कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ ।

फाट्टफुट्ट आन्तरिक पर्यटकबाहेक अहिले हाइकिङ गन्तव्यका रूपमा रहेको चर्चित अष्ट्रेलियन क्याम्प सुनसान भएको अष्ट्रेलियन क्याम्पका पर्यटन व्यवसायी बताउँछन् ।

कुनै बेलाको गौचरन ठूलो खर्क अहिले पर्यटनका लागि प्रख्यात भए पनि कोरोनाले समस्या ल्याएको ट्रेकिङ व्यवसायी बताउँछन् । पोखराको फेदीदेखि पदयात्रामार्फत धम्पुस हुँदै अष्ट्रेलियन क्याम्प र अष्ट्रेलियन क्याम्प हुँदै फर्किँदा काँडे आउने पदमार्गको रुट छ तर पछिल्लो समय धम्पुससम्म सडक पुगेपछि धम्पुसबाट एक घण्टाको पदयात्रा गरी अष्ट्रेलियन क्याम्प पुग्न सकिन्छ ।

हाइकिङ गरी अष्ट्रेलियन क्याम्प पुगेका पर्यटक आँखै अगाडिको माछापुच्छे« हिमाल देखेर मोहित हुने गरेका छन् । कोरोना भयावहका कारण विदेशी पर्यटक आउने क्रम रोकिएपछि अष्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान भएको अष्ट्रेलियन क्याम्पमा २० वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका अष्ट्रेलियन क्याम्प गेष्टहाउस तथा रेष्टुरेण्टका सञ्चालक हरिबहादुर केसीले बताउनुभयो ।

“यो स्थान विशेषगरी विदेशी पर्यटकको रोजाइमा पर्दछ, सिजनमा पूरै क्याम्प नै भरिने गरी पर्यटक आउँथे”, केसीले भन्नुभयो, “सिजनको समयमा झण्डै दैनिक ३०० विदेशी पर्यटक आउने अष्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान छ ।” कोरोनापछि केही आन्तरिक पर्यटक हाइकिङका लागि मात्रै आउने गरेको केसीको भनाइ छ ।

अष्ट्रेलियन क्याम्पमा झण्डै रु तीन करोड लगानीमा होटल व्यवसाय सञ्चालनमा ल्याउनुभएका उहाँले अहिलेजस्तो सुनसान २० वर्षको अवधिमा कहिल्यै नभएको बताउनुभयो । अहिले होटलमा कामदार छैनन् । परिवारका सदस्यमात्रै पर्यटक कुरेर बस्दै आएका छन् । कोरोनाअघि उक्त होटलमा चार कामदार थिए । अहिले होटलमा पर्यटक आउन छोडेपछि कामदारलाई बिदा दिइएको हो ।

पन्ध्र वर्षदेखि अष्ट्रेलियन क्याम्पमा माछापुच्छ«े लज सञ्चालन गर्दै आउनुभएका शिव देवकोटाले अहिले घाँस, दाउरा गरेर समय कटाएको बताउनुभयो । जङ्गलको बीचमा रहेको उक्त क्याम्प निकै मनमोहक छ ।

क्यापभित्र टेन्टमा बास बस्ने सुविधासमेत छ । टेन्टमा रात कटाउन पर्यटक रुचाउने गरेका छन् । “अहिलेको अवस्था शून्य छ, अब पर्यटक आउने आशा छ”, देवकोटाले भन्नुभयो, “पर्यटकलाई लक्षित गरी पालिएको बाख्रा, कुखुरा तथा तरकारी त्यसै छन्, पर्यटक आउँदा खोसाखोस हुन्थ्यो ।”

चरिचरन रहेको अष्ट्रेलियन क्याम्पलाई पहिला स्थानीयवासीले ठूलो खर्कका रूपमा चिन्थे । माछापुच्छे« र अन्नपूर्ण हिमाल आँखै अगाडि देखिने, मिलेको भूबनोट र प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त ठूलो खर्कमा २० वर्षभन्दा अघि अष्ट्रेलियालीहरुले क्याम्प खडा गरेर बास बसेका कारण ‘अष्ट्रेलियन क्याम्प’का नामले चिनिन थालेको हो । समुद्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको अष्ट्रेलियन क्याम्प अहिले पर्यटकको पर्खाइमा छ ।

भौगोलिकरूपमा निकै रमणीय रहेको अष्ट्रेलियन क्याम्पको मुख्य आर्कषक अस्थायी क्याप खडा गरी टेन्टमा बस्नु हो । पहिला पर्यटक आफैँले टेन्ट तथा खानेकुरा लगेर जाने यस स्थानमा पछिल्लो समय होटल सञ्चालन हुनाले केही सहज भएको छ । अन्नपूर्ण तथा मर्दी हिमालको आधार शिविर जाने पदमार्गकै छेउछाउ भएकाले पनि यो ठाउँ निकै प्रख्यात भएको थियो ।

यहाँका होटल व्यवसायीले सडक नभएका कारण मानिसलाई बोकाएर खाद्यान्न लैजाने गरेका छन् । यस क्षेत्रमा खानेपानीको भने समस्या छ ।

विदेशी पर्यटक आउन केही ढिला हुने भएपछि आन्तरिक पर्यटकलाई ल्याउन प्रचारप्रसारजस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँले कोरोनापछि घान्द्रुकमा आन्तरिक पर्यटक बढेको बताउँदै अष्ट्रेलियन क्याम्पमा पनि नेपाली पर्यटक पुग्न शुरु भइसकेको बताउनुभयो ।

पश्चिम चितवन रोज्दै पर्यटक
चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो ।

झण्डै तीन दशकदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आउनुभएका ईश्वर जोशी देशको तेस्रो पर्यटकीय गन्तव्य पहिले–पहिले सौराहा भन्ने गरिए पनि अहिले चितवन बनेको बताउनुहुन्छ । उहाँको भनाइमा सौराहा जत्तिकै उपयुक्त गन्तव्य पश्चिम चितवनका राप्ती र नारायणी किनार बन्दै गएका छन् । देशको जङ्गल सफारी गर्ने पर्यटकका लागि चितवन पहिलो रोजाइ हो ।

सौराहा निकुञ्ज छिर्ने प्रवेशद्वार पनि हो । यहाँबाट राप्ती किनार हुँदै निकुञ्ज छिर्ने गरिन्छ । त्यसैगरी पश्चिम चितवनको पटिहानी, जगतपुर, मेघौलीलगायतका ठाउँबाट पनि राप्ती र नारायणी नदी हुँदै निकुञ्ज प्रवेश गरिन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अहिले निकुञ्जका ६० प्रतिशतभन्दा बढी गैँडा कसराको पश्चिमतर्फ छन् । सो क्षेत्रमा मानवीय चाप कम भएकाले गैँडासहित अन्य वन्यजन्तुको वासस्थान राम्रो छ । सौराहा क्षेत्रमा जङ्गल सफारीसहित अन्य गतिविधिमा रमाउने पर्यटकको रोजाइ हुने गरेको छ भने विशुद्ध जङ्गल सफारीमा रमाउनेहरु भने पश्चिम चितवनतर्फ आकर्षित हुने गरेको बरालको बुझाइ छ ।

पर्यटनविज्ञ विश्व सुवेदी विगत वर्षको तुलनामा जिल्लामा भित्रिने पर्यटक पश्चिमतर्फ लाग्ने प्रतिशत बढ्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष जिल्ला भित्रिएकामध्ये ९० प्रतिशत सौराहा र १० प्रतिशत पश्चिमतर्फ बसेको तथ्याङ्क छ । गत वर्षमा पश्चिम चितवन जाने पर्यटकको सङ्ख्या १५ प्रतिशत पुगेको छ । बर्सेनि यो सङ्ख्या थपिँदै जाने उहाँको आकलन छ ।

जिल्लामा बर्सेनि दुई लाखभन्दा बढी पर्यटक भित्रिने गरेका छन् । सुवेदी जिल्ला भित्रिने पर्यटकको ३८ प्रतिशत हाराहारी दोहोरिने गरेको र उनीहरुले सधैँ एउटै ठाउँभन्दा फरक ठाउँ रुचाउने गरेको बताउनुहुन्छ । जिल्लामा पर्यटकीय होटलको सङ्ख्या २१५ छ । एक सय १० सौराहामा छन् भने अन्य जिल्लाका विभिन्न ठाउँमा छन् । सौराहाबाट दैनिक ३२ वटा जीप पर्यटक लिएर निकुञ्ज छिर्छन् भने पश्चिम चितवनबाट आठवटा जीप निकुञ्ज छिर्ने गर्दछन् ।

सौराहा क्षेत्रमा झैँ पश्चिम चितवनमा पनि सामुदायिक वनमा हात्ती सफारी गर्ने गरिन्छ । जङ्गल सफारीमा उपयुक्त भएसँगै पश्चिम चितवनमा पर्यटकको सङ्ख्या बढ्दै गएको सुवेदीको भनाइ छ । ठूला होटल पटिहानी, जगतपुर र मेघौलीमा छन् । यस वर्ष घुम्नका लागि विदेश जान नपाएका नेपालीहरू पश्चिम चितवन आउन थालेको सुवेदीको भनाइ छ । निकुञ्ज स्थापना भएसँगै विसं २०३० पछि सौराहा क्षेत्रमा होटल शुरु भएका हुन् । क्रमशः निकुञ्जका आसपासका अन्य क्षेत्रमा पनि पर्यटकीय होटल खुल्ने क्रम शुरु भएको हो । निकुञ्जभित्र रहेका सातवटा होटल भने बन्द भएका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया सौराहाको महत्व कहिल्यै नघट्ने भए पनि चुनौती भने थपिँदै गएको बताउनुहुन्छ । थप पर्यटकीय गतिविधि सञ्चालन गरेर पर्यटकको बसाइ लम्ब्याउने, आगमन बढाउने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हिजोको हिसाबले चलेर पुग्दैन भन्नेमा हामी सचेत छौँ ।”

सौराहा आउने पर्यटकले खानाको गुणस्तर र मूल्यमा विगतमा झैँ गुनासोसमेत गर्ने गरेका छन् । अघिल्ला वर्षहरूमा विदेशीलाई मात्रै पर्यटकका रूपमा लिने गरेको भए पनि विदेशी पर्यटक रोकिएपछि भने स्वदेशी पर्यटकबाट पर्यटकीय गतिविधि शुरु गरिएका छन् ।

पर्यटन प्रवद्र्धनमा सक्रिय पटिहानीका अपिल घिमिरे हिजोआज पटिहानी क्षेत्रमा स्थानीय र बाहिरबाट समेत ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार त्यहाँ रहेको अम्रेलास्ट्रिटमा रमाउन बढी पर्यटक आएका छन् । यसका अतिरिक्त रात बसेर जङ्गल सफारी गर्न आउनेहरुको सङ्ख्यासमेत दिनहुँ बढ्दै गएको छ । यसकै कारण पश्चिम चितवनको राप्ती र नारायणी किनारमा होटल खुल्ने क्रम बढ्दै गएको छ ।

प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यका रूपमा मेघौलीलाई पारेर पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेको छ । मेघौलीमा मात्रै रु तीन करोड ५० लाख खर्च गरेर राइनो पार्क बन्दैछ । देशकै १०० पर्यटकीय गन्तव्यभित्र पटिहानी सूचीकृत भएसँगै पर्यटकीय पूर्वाधार विकासको काम भइरहेको छ । भरतपुर महानगरभित्र पर्ने पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणमा महानगर पनि केन्द्रित भएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा पश्चिम चितवनको जगतपुर हुँदै जानु पर्छ भने माडी पनि सोही सडक हुँदै जाने गरिन्छ । निकुञ्जको मुख्य कार्यालयमा घडियाल र गिद्ध प्रजनन केन्द्र रहेको छ । यहाँ पनि ठूलो सङ्ख्यामा पर्यटक जाने गरेका छन् ।

निकुञ्जमा पर्यटक दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीजस्ता जनावरसँगै चराचुरुङ्गी हेर्न आउने गर्दछन् । यसका अतिरिक्त विभिन्न जातजातिका सांस्कृतिक रहनसहन र खानामा पर्यटक रमाउने गर्दछन् । पश्चिम चितवनमा सांस्कृतिक विविधताका कारणले पर्यटकको मागअनुसारका खानासँगै संस्कृति हेर्न पाइन्छ । यससँगै घरवासमा रमाउन चाहनेका लागि पनि पश्चिम चितवनमा सुविधा रहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..