एमाले संसदीय दलको बैठक बस्दै : कर्णाली सरकारको टाउको माथि तरबार

Mahendra Shahi

Mahendra Shahi

कर्णाली प्रदेश सरकारको भविष्यबारे आज निर्णय हुँदैछ । नेकपा एमाले संसदीय दल कर्णालीको निर्णायक बैठक आज बस्दैछ । आज बस्ने बैठकले सरकारको भविष्य निर्धारण गर्नेछ । यसअघि एमाले ओली समूहको संसदीय दलको बैठकले चैत्र ५ गतेदेखि लागू हुनेगरी सरकारबाट समर्थन फिर्ता लिएको निर्णय गरिसकेको छ ।

त्यसपछि माधव नेपाल समूहका सांसदहरुले आफूहरु सरकारकै समर्थनमा रहेको बताएका थिए । तर, गत मंगलबारपछि भने नयाँ कोर्ष सुरु भएको छ । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सरकार अल्पमतमा परिसकेकाले तत्काल विश्वासमा मत लिन ध्यानाकर्षण पत्र पठाएका थिए ।

माओवादीले भने आफूहरु बहुमतमै रहेको दावी गर्दै अहिले विश्वासको मत लिन नपर्ने दावी गरेको छ । सुरुमा मुख्यमन्त्री शाहीको पक्षमा देखिएका एमाले माधव नेपाल समूहका सांसदहरु अहिले भने सरकारको विपक्षमा देखिएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका अनुसार आजको बैठकमा नेपाल समूहका सांसदहरु पनि सहभागी हुनेछन् । र कर्णाली सरकारको भविष्यबारे निर्णय हुनेछ । संसद्मा २० सिट रहेको एमालेले समर्थन झिक्दा सरकार अल्पमतमा परिसकेको छ । तर, यही सरकारमा एमालेको तीन मन्त्री छन् र उनीहरुले अहिलेसम्म राजीनामा दिएका छैनन् । माधव नेपाल खेमाका ती मन्त्रीलाई पार्टीले सरकारबाट फिर्ता आउन निर्देशन दिइसकेको छ ।

चैत ४ गते बसकेको संसदीय दलको वैठकमा माधव नेपाल पक्षका सांसद सहभागी थिएनन् । एमाले संसदीय दलका नेता यामलाल कँडेलले वैठकमा सहभागी नहुने सांसदलाई स्पष्टीकरण सोध्ने तथा सरकारमा सहभागी मन्त्रीहरुलाई तत्काल राजीनामा गर्न ‘सुझाव’ दिने निर्णय गरेको बताएका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..