ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक : संसद विघटनको मुद्दामा अड्कियो वार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ओलीले असार २९ गते (मंगलबार) बिहान ११ बजे बस्ने गरी केन्द्री कमिटीको बैठक बोलाएका हुन्। केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन सोमबार स्थायी कमिटी बैठक बोलाइएको छ। अध्यक्ष ओलीले आइतबार नै स्थायी कमिटी बैठक बोलाइए पनि सोमबार अपराह्न ५ बजे बस्ने गरी स्थगित गरिएको थियो।

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)सहितका नेताहरुलाई पनि बोलाइएको जनाइएको छ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाअघि केपी ओलीसँग कुनै सम्झौता नहुने प्रष्ट पारेका छन् । आफू निकट केन्द्रीय सदस्य र सांसदहरुसँग आइतबार छलफलका क्रममा नेता नेपालले आफूले पद नखोजेको समेत प्रष्ट पारेका छन् ।

केन्द्रीय सदस्यहरुसँग नेपालले भने- सर्वोच्चको फैसलाले एकखालको राजनीतिक शक्ति सन्तुलनको स्थिति बनाउछ । त्यसपछि दुवै पक्षले आफ्नो शक्ति बुझिन्छ र बदलिदो परिस्थितिमा सम्झौता हुनसक्छ । २८ गते रियालिटी परिवर्तन हुँदैछ भने २७ गते किन सम्झौता गर्ने ?

सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको वार्ता सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा अड्किएको छ । कार्यदलका नेताहरु आइतबार विहानदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा छलफलमा छन् । दिउँसो कार्यदलका सदस्य घनश्याम भुसाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए । आइतबार साँझ कार्यदलका सदस्य विष्णु पौडेल बैठक स्थलबाट बाहिरिएका छन् ।

कार्यदलका एक सदस्यका अनुसार छलफल सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको विषयमा अडिएको छ । स्रोतका अनुसार ओली पक्षले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा पार्टीको भावना कायम हुने गरी निर्णय लिइने उल्लेख गर्नुपर्ने प्रस्ताव गरेको छ ।

तर वरिष्ठ नेता नेपालले अदालतलाई प्रभावित पार्ने वा हस्ताक्षर फिर्ता गर्ने कुनै शब्द सहमतिमा राख्न आफू तयार नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा शेरबहादुर देउवासहित १४६ सांसदले रिट दिँदा एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा बहस सकिएर हेर्दाहेर्दैमा राखिएको छ र सोमबार पेशी तोकिएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..