आज सुखद समाचार सुन्न सकिने ओली पक्षका नेताको दाबी

नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य सुवास नेम्वाङले भोलि बिहान ८ः०० बजे देशवासीले सुखद् समाचार पाउने घोषणा गरेका छन्। उनले एमाले एकतामा कुनैपनि समस्या नरहेको भन्दै भोलि बिहान ८ः०० सहमतिको दस्तावेज सार्वजनिक गर्ने घोषणा गरेका हुन्।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा शनिबार भएको कार्यदलको बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘बाहिर हल्ला फैलाएजस्तो चुप लागेर बसेका छैनौँ। हामी सहमतिमा पुगिसकेका छौँ। भोलि बिहान आठ बजे सुखद् समाचार आउने छ।’

यस्तै उनले माधव कुमार नेपाल र प्रचण्डबीच भएको भेटवार्ताले एमालेको एकतामा कुनै प्रभाव नपर्ने बताएका छन्। उनले भने, ‘माधव कमरेड बिरामी हुनुहुन्छ। त्यसैले प्रचण्ड उहाँलाई भेट्न जानुभएको हो। त्यसको असर यहाँ पर्दैन।’

कार्यदल सदस्य गोकर्ण विष्टले पनि आइतबार सहमति हुने दाबी गरे। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आइतबार एकताकाे सन्देश दिने जिकिर गरे। ‘गम्भीरतासाथ एकले अर्काको मनोविज्ञान बुझ्दै छलफल गर्‍याैँ। अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौं। अब हामीसँग छलफलका त्यति धेरै विषय छैनन्। लगभग हामी समस्यालाई समग्रतामै समाधान खोज्ने विन्दुमा आइपुगेका छौं’, विष्टले भने, ‘यद्यपि, त्यो प्रकारको समाचार घोषणा गर्न सकिरहेका छैनौं। भोलिको दिन पार्टी एकताको सन्देश दिन हामी सफलता प्राप्त गर्नेछौं। अब केही मिलाउने, औपचारिकता दिलाउने काम मात्र बाँकी छ। त्यो भोलि हुन्छ।’

यसअघि कार्यदलले आज शनिबार ‘अन्तिम सहमति’लाई टुंगोमा पुर्‍याउने बताएको थियो। शुक्रबार झण्डै ८ घण्टा भएको छलफलपछि नेताहरूले कार्यदलमा सहमति भएको र शनिबार अन्तिम रुप दिने बताएका थिए। तर, शनिबार पनि कार्यदल सहमति सार्वजनिक गर्ने तहमा भने पुग्न सकेन।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..