एमाले एकता अन्तिम चरणमा पुगिसक्यो : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । कार्यदल सदस्य रहेका बिष्टले केहीदिन भित्रै सहमति जुट्ने बताए । ‘छलफल प्रभावकारी बन्दै गएको छ । एमाले एकता अन्तिम चरणमा पुगेको छ’, उनले भने । साँझ सात बजे बस्ने बैठकबाटै एकतालाई मूर्त सन्देश दिने विष्टले बताए ।

ओली पक्षका नेता सुवास नेम्वाङले बाहिर चर्चा भएजस्तो अवस्था नभएको बताए । उनले भने, ‘बाहिरको चर्चामा विश्वास नगर्नुस् । वार्ता सकारात्मक छ ।’ सोमबार देखि सक्रिय कार्यदलको लगातार बैठक बसिरहेको छ । कार्यदलको बैठककै बीच बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान अन वान’ सम्वाद भएको थियो । तर दुवैले अडान छोडेनन् ।

ओली र नेपालबीच सहमति जुट्न नसकेपनि कार्यदलका सदस्यहरु एकता जोगाउन सक्रिय छन् । ओली र नेपाल भेटवार्ता सकिए लगत्तै कार्यदलका सदस्यहरु सक्रिय छन् । उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बुधबार राति अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । त्यसपछि पुनः रावलले नेता नेपालसँग सम्वाद गरेका छन् ।

पार्टी एकताका आधारहरु खोज्नका लागि गठित एमाले कार्यदलमा केपी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् । त्यस्तै, माधव समूहबाट भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।

विहीबार बिहानको बैठक सकिएपछि कार्यदलका सदस्यमध्ये अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल आफ्नै कार्यकक्षमा रहेका छन् भने माधव समूहका पाँचैजना नेताहरु अर्थ मन्त्रालयमै आन्तरिक छलफलमा जुटेका छन् । सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल बालुवाटारतिर लागेका छन् ।​

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..