सुदूरपश्चिमः दुई लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाइयो

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै गत माघदेखि हालसम्म कूल दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको छ ।

सो अभियानमा प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन् । कैलालीमा सबैभन्दा बढी ६३ हजार ३९७ लाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

यस्तै, कञ्चनपुरमा ३० हजार २२३, अछाममा २० हजार ५७४, दार्चुलामा १७ हजार १७९, बझाङमा १६ हजार ९७३, बैतडीमा १६ हजार १९५, डोटीमा १४ हजार ६९७, बाजुरामा १२ हजार ३२६ र डडेल्धुरामा ११ हजार २४४ जनाले खोप लगाएका हुन् ।

अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा ज्येष्ठ नागरिकलाई खोप दिइएको हो ।

सुदूरपश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि नै उक्त अभियान शुरु गरिएको थियो । प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएको थियो भने पहिलो खोप स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले लगाएका थिए ।

ताप्लेजुङमा टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएकोे हो ।

दुर्घटनामा परी चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिनुभयो । उनीहरुको झापामा उपचार भइरहेको छ ।

फावाखोलामा निर्माणाधीन युनिटेक हाइड्रोपावर निर्माणस्थलमा काबेली खोलाबाट बालुवा लिएर जाने क्रममा गएराति दुर्घटना भएको थियो । मृतक विक हाइड्रोपावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी, माछापुछ«े इन्जिनीयरिङ प्रालिका कामदार रहेको निरौलाले जानकारी दिनुभयो ।

मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भएको जनाइएको छ । टिप्पर सडकबाट झण्डै ५० मिटर तल झरेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

वामपन्थी नेता मानन्धरको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
नेपाली कांग्रेस संसदीय दलले वामपन्थी अग्रज नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको उपचारका क्रममा यही चैत १६ गते ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

स्व मानन्धर रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताका रुपमा परिचित हुनुहुन्थ्यो । सरल र शान्त स्वभावका धनी मानन्धर आदर्श व्यक्तित्वका रुपमा स्थापित हुनुहुन्थ्यो ।

फुङ्लिङ तुवालोले अध्यारो भयो
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपातभएसँगै ताप्लेजुङको सदरमुकाम आज बिहानदेखि तुवालोले अध्यारो बनाएको छ । हिमाली बस्ती घुन्सामा तीन दिनदेखि हिमपात भएको स्थानीय पेमा शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “तीन दिन भयो हिउँ पर्दै रोक्दै गरेको । आज पछि हिउँ पर्दै छ ।” हिउँ परेपछि चिसोका कारणले जनजीवनसँगै पशु चौपाय प्रत्यक्ष प्रभावित हुन पुगेको उहाँले बताउनुभयो । घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइँमा अवस्थीत एक पर्यटकीय क्षेत्र हो ।

फक्ताङलुङ–७ ओलाङ्गोलमा भने हिउँ नपेर पनि तीन दिनदेखि गाउँ नै अध्यारो भएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले त जङ्गलमा आगलागी भएछ, भनेर तलसम्म झरेर हेर्यो । आगलागी भएको हैन् रहेछ । ” ओलाङचुङगोलामा तुवालो तीन दिनदेखि गाउँ नै अध्याँरो बनाएको तेन्जिङ वालुङले जानकारी दिनुभयो ।

त्यस्तै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आज बिहान नैदेखि तुवालोले पुरै बजार अध्याँरो भएको छ । तुवालोका कारणले प्रत्यक्ष स्वास्थ्यमा प्रभाव पर्ने जनाउँदै सरकारको आइतवारको चार दिन विद्यालय विदा दिने निर्णय गरेसँगै आजदेखि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द भएका छन् ।

पत्रकार महासङ्घ प्रदेश १ को भवन उद्घाटन
नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गरिएको छ । सो भवन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्क्तरुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा प्रदेश समितिले प्रकाशित गरेको ‘मेरो पत्रकारिता’ पुस्तकको पनि विमोचन गरियो ।

भवन बनाउन विराटनगर महानगरपालिकाले वडा नं ५ स्थित रु एक करोडभन्दा बढी मूल्यको जग्गा निःशुल्क उलब्ध गराएको थियो । भवन निर्माण गर्न प्रदेश सरकारले रु ७६ लाख आर्थिक सहयोग गरेको छ । व्यापारिक उद्देश्यसहितको सो भवन बैठक कक्षसहित दुई तले छ ।

कार्यक्रममा प्रदेश नं १ का ३० वर्षभन्दा बढी पत्रकारिता क्षेत्रमा अनवरत योगदान एवम् क्रियाशील रहनुहुने पत्रकार लोकराज ढकाल, गोविन्दचन्द्र क्षेत्री, कृष्ण अधिकारी, कौशल चेम्जोङ, शिव कार्की, यज्ञ शर्मा, कृष्ण हुमागाईँ, लक्ष्मी लुइँटेल, राजबाबु शङ्करलगायत ३० जना पत्रकारलाई सम्मान गरियो ।

मुख्यमन्त्री राईले सङ्घीयताको उपहारको रुपमा रहेको यो भवनबाट सञ्चारकर्मीलाई आफ्ना क्षेत्रमा योगदान दिन मद्दत पुग्ने बताउनुभयो । उहाँले संविधान र सङ्घीयताको कार्यान्वयनमा पत्रकारको पनि भूमिका महत्वपूर्ण छ भन्दै समृद्धि र विकासको फराकिले यात्रालाई पूरा गर्न सञ्चारकर्मीको अझ भूमिका आवश्यक छ भत्रुभयो । मुख्यमन्त्री राईले स्थायी शान्ति र सुशासनविना समृद्धि र विकासको यात्रा पूरा गर्न कठिन हुने चर्चा गर्दै महासङ्घलाई राजनीतिक आस्थाको केन्द्र नभई व्यावसायिक तथा पेशागत हितको निम्ति उपयोग गर्न सुझाव दिनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले समाजको महत्वपूर्ण अङ्गको रुपमा रहेको पत्रकारिता सत्य र तथ्यको आधारमा चल्नुपर्ने धारणा राख्नुभयो । उहाँले समृद्धि र विकासको यात्रामा पत्रकारिता क्षेत्रलाई कम आँकलन गर्न नहुने भन्दै समाजका चुनौती र समस्यालाई चिरफार गर्न यो क्षेत्रले महत्वपूर्ण योगदान दिइरहेको बताउनुभयो । उहाँले पत्रकारिता पेशा राजनीतिक पार्टीको निर्देशन र आदेशअनुसार नभई मुलुकको वास्तविकताको आधारमा चल्नुपर्ने सुझाव दिँदै पत्रकारले पेशागत एकतालाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका केन्द्रीय अध्यक्ष आचार्यले सरकारलाई खबरदारी गर्ने र समाजमा चेतना फैलाउने पत्रकारिता पेशा इमान्दार हुनुपर्ने बताउनुभयो । उहाँले यो क्षेत्रलाई राजनीतिक दवावभन्दा बाहिर राख्नुपर्ने सुझाव दिँदै नेतृत्वमा आउने पदाधिकारीले नयाँ एवम् रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले पत्रकारिता क्षेत्रको विकास र पेशागत हक हितका लागि नवनिर्मित भवन कोशेढुङ्गा हुने भन्दै पत्रकारिताको खोज र अनुसन्धानका लागि यो भवनले धेरै बल प्रदान गर्ने बताउनुभयो । महासङ्घ प्रदेश–१ समितिका अध्यक्ष विक्रम लुइँटेल र उपाध्यक्ष सोमनाथ सुसेलीले समिति बनेको तीन वर्षको अवधिमा धेरै काम गरेको जानकारी दिँदै भवन बनाउनमा सहयोग गर्ने दातालाई धन्यवाद दिनुभयो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..