बिचौलियाराजको विरोधमा माग्दै बारदेखि बालुवाटारसम्म वृहत मार्चपास हुँदै

  • 2 months अगाडि

नेपाल बार एसोसिएसनको नेतृत्वमा सातवटा नागरिक संस्था र बृहत् नागरिक आन्दोलनले आज (बिहीबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतको गेटबाट बालुवाटारसम्म मार्च पास गर्दैछन्।

प्रधानन्यायाधीश राणाको राजीनामाका लागि दबाब र राजनीतिक दलहरुका लागि महाअभियोग दर्ता गर्न दबाब दिने उद्देश्यले मार्चपास गर्दै ज्ञापनपत्रसम्म बुझाउने तयारी गरिएको हो।

बिचौलियाराजको विरोधमा जवाफदेही लोकतन्त्रका निम्ति भन्दै नेपाल बार एसोसिएनस, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको संयुक्त आह्वानमा मार्चपास हुन लागेको जनाइएको छ।

यो अवधिमा बारले कालोपट्टी बाँधेर धर्ना दिनेदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्न मूलगेटमा धर्ना दिनेसम्मको अभियान चलाएको छ। तेस्रो चरणको आन्दोलनको अन्तिमतिर हुँदा बारले बुधबार देशभरका उच्च अदालतमा आन्दोलन गरेको छ।

बारले आज पनि सर्वोच्च परिसरमा १० बजेदेखि १२ बजेसम्म धर्ना दिने र २ बजे सर्वोच्चको गेट हुँदै बालुवाटारसम्म पुगेर प्रधानन्यायाधीशको बहिर्गमनका लागि दबाब दिने अधिवक्ता विराज थापाले बताए। कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन अहिले एक महिना पूरा गरेको छ।