आज हाम्रो भान्से ठिक छैन – मिशन अधिकारी

 

फेरी पनि भन्छु-
हाम्रो भान्से ठिक छैन ।
ऊ मेरी आमाले झैं
ममताको न्यानो बाँड्न जान्दैन
अवसर पनि बाँड्दैन
अधिकार पनि बाँड्दैन
राख्छ, आफ्नै शालीको नाममा
राख्छ, आफ्नै श्रीमतीको नाममा
जे-जे पाक्छ मिठो-मसिनो
सायद आफैं खानुपर्छ भन्ने सोच्छ
आफू अघाउँछ, आफन्त पोस्छ
र हामीलाई रित्तो भाँडा देखाउँछ
मलाई यो जानेपछी
भात खाउँ कि भाँडो खाउँ हुन्छ
भोकलाई अलि पर राखेर
भान्सेलाई नै करम्-करम् खाउँ झैं हुन्छ !

मेरो आफ्नो भाग्यमा केही छैन
मेरो टाउकामाथि केही छैन
छ त केवल घाम-जून
एकतमास रोईरहेको आकाश छ
लाग्छ, आकाश पनि
सपनाको शोक बारिरहेछ ।
यो बेला सपनाको बम खेलाईरहेछु म यौटा गुडिया झैं
आफ्नै हातमा
ए भान्से दाइ,
याद गर
मलाई विवश नबनाऊ
यो तिम्रै तालुमा खसाल्न ।

म यतिबेला एक अवोध भएको छु
मलाई आजकल भोक भन्दा केही लाग्दैन
यो बेला म जे पनि गर्न सक्छु ।

Kantipath Media

यो छुट्टाउनु भो कि..