कोभिडले रोकिएन साहित्य

कोभिड-१९ को सुरूआतसँगै धेरै पेशा व्यवसाय करिब-करिब बन्दै रहे। अझै पनि असर कायमै भए पनि यहाँको साहित्य भने कोभिडजस्तो महामारीमा पनि कहिल्यै रोकिएन। सुरूआती चरणमा जुम प्रविधिमार्फत् आयोजना गरिएका साहित्यिक गतिविधि पछिल्लो समय प्रत्यक्षरूपमै हुन थालेका छन्।

चितवनका दुई दर्जन हाराहारी साहित्यिक संघ-संस्थाले कुनै न कुनै रूपमा साहित्यलाई निरन्तरता दिई नै रहे।

कतिपय साहित्यकारले निषेधाज्ञाको सदुपयोग गर्दै घरमै बसेर कृति पढ्ने, लेख्ने र जुममार्फत् आफ्नो कृति एकअर्कामा सुनाउने र पुस्तकसमेत प्रकाशन गरेका थिए।

युरेका पब्लिकेसन र सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटा अन्य समयभन्दा कोभिडका बेला साहित्यिक गतिविधिमा कमी नआएको बताउँछन्। यसैलाई सदुपयोग गर्दै धेरै साहित्यकारले प्रकाशनको कामसमेत गरेको उनको भनाइ छ।

अघिल्लो वर्षको निषेधाज्ञा यता सिर्जन अविरलको उपन्यास संग्रह ‘मोक्ष’, विनोदबाबु रिजालको डायरी ‘एकान्तवास’, सूर्यप्रकाश कँडेलको उपन्यास ‘मोसो’, गायत्री अधिकारीको कथा ‘निर्णय’, सुमन घिमिरेको ‘सुनको टप’ र यसको अंग्रेजी अनुवाद प्रकाशन भएका छन्।

यसैगरी वसन्त पराजुलीको कथासंग्रह ‘मुस्सो’ प्रकाशनको तयारीमा छ भने ‘कुमाता’ तेस्रो संस्करण प्रकाशित भैसकेको छ। निर्दोष जीवनको उपन्यास ‘मोस्टालजिया’, शोभा कँडेलको संस्मरण ‘यादहरू’, मिनराज वसन्तको हिन्दीमा रहेको ‘लेनिनको जीवनी’ नेपाली अनुवाद, डा कृष्ण पौडेलको स्वास्थ्यसम्बन्धी पुस्तक ‘कम्मरीदेखि कोभिड कहरसम्म’ प्रकाशित भएका छन् भने उनकै अन्य दुई कृति तयारी अवस्थामा छन्। रामहरि श्रेष्ठको संस्मरण ‘भुल्न नसकेको अतित’, गोविन्दराज विनोदका ‘नानीका गजल, नानीका कविता र सयपत्री रानी’ गरी तीन कृति यसै समयमा प्रकाशन भएका छन्।

पत्रकार एवं आख्यानकार वसन्त पराजुली मोफसलमा साहित्यले मात्रै मानिसको जीविकोपार्जन नहुने भएकाले अन्य काममा व्यस्त हुने गरेकामा लकडाउनका कारण घरमै बस्न बाध्य हुँदा साहित्यिक गतिविधि थप चलायमान हुन पाएको बताउँछन्।

उनले भने, ‘घरमा फुर्सदिलो हुँदा पढ्ने र लेख्ने अवसर मिल्यो।’

यसै समयमा कृति प्रकाशन गरेको सुमन घिमिरे लकडाउनले अन्य पेशा व्यवसायमा असर पार्दा साहित्यमा कुनै असर नपरेको बताउँछन्।

उनले भने, ‘यसलाई अधिकतम उपयोग गरेर मैले दुई कृति प्रकाशन गर्ने अवसर पाएँ।’ साहित्य सङ्गमका जिल्ला अध्यक्ष प्रकाश चापागाईं कोभिड कहरको असर साहित्यमा नपरेको बताउँछन्।

उनले भने, ‘हामी चुप लागेर बसेनौं। घर बाहिर निस्किन नसक्दा पनि सिर्जना गर्ने, अध्ययन गर्ने, जुममार्फत कार्यक्रम गर्ने गरी नै रह्यौं।’

विगतका वर्ष जत्तिकै साहित्यिक गतिविधि भइरहेको उनको भनाइ छ। जिल्लामा नियमित लेख्ने साहित्यकारको सङ्ख्या एक सयभन्दा बढी छ। चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल जिल्लामा कोभिडले साहित्यिक गतिविधि नरोकिएको बताउँछन्।

घरबाट बाहिर निस्कन नपाउँदा भर्चुअल माध्यमबाट कवि गोष्ठी र पुस्तक चर्चा गर्ने काम भई नै रहेको उनको भनाइ छ।

कोभिड घट्दै गएपछि सानो-सानो सङ्ख्यामा साहित्यिक कार्यक्रम गर्ने गरेको अध्यक्ष अस्तफल बताउँछन्। यस समयमा पनि अन्य समयमा झैं लेखक तथा साहित्यकारको कृति निरन्तर प्रकाशित भइरहेका छन्।

सञ्चार माध्यममा कोभिडका बेला अन्य सामग्रीको उत्पादन कम भएकाले साहित्यिक कार्यक्रम र लेख-रचना प्रकाशनले प्रशस्त ठाउँ पाएका छन्।

जिल्लाका रेडियोमा गजलका कार्यक्रम निकै प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन्। लकडाउनका समयमा यस्तो कार्यक्रमका स्रोता झनै बढी भएको कार्यक्रम प्रस्तोताका भनाइ छ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..