annapurna add

cdszczxc

फेरि पनि रगतले कटकटिएका स्मृतिको पत्रहरू पल्टाउने कोशिश गर्दैछु ।

जहाँ जिवनोत्सर्ग गरेका हजारौं सहयोद्धाहरूको आकृति पनि देखिरहेछु र त यो कुरा लेखिरहेछु । हजारौं घाइते योद्धाहरूको प्रतिबिम्बको झझल्को पनि आईरहेको छ । लाखौंलाख श्रमजीवी जनसमुदायको याद पनि उत्तिकै मात्रामा आईरहेको छ । र “रगत क्रान्तिको उर्जा हो ।” भन्ने महान गुरु क. मार्क्सको भनाइ पनि स्मृतिपटलमा घुमिरहेछ ।

यो अजीव पत्रहरू क्रान्तिकारी ज्ञान चेतले भरिपूर्ण छ । मालेमावादी दर्शनले लैस छ । सर्वहारावादी सिद्धान्तले ओतप्रोत छ । र मुटुको रगत जस्तै जीउँदो इतिहास पनि ।

यो क्यामेराको रिल घुमे झैं फनफनी घुमेर आईरहन्छ । आँसु, रगत र पसिनाको त्रिवेणीबाट गुज्रंदै आएको परिवेश चित्रमा कार्चोपी भर्नु झैं सजिलो थिएन । हुँदैन पनि ! यो त रक्ताश्रुमिश्रीत झन्झावातबाट पैदा भएको एक अकाट्य तथ्य थियो ।

सर्वहारा क्रान्तिको विज्ञान थियो । टाउकोमा आफू छोपिने कफनको फेटा बाँधेर शुरु गरिएको महान यात्रा थियो । वर्गसंघर्षको दावानलमा होमिएको छुट्टै खालको साहस थियो । शोषित-पीडित बस्तीहरूलाई ब्युँझाउने लम्बे अभियान थियो । सर्वहारावर्गको हक, अधिकार प्राप्त गर्ने एक चुनौतीपूर्ण बाटो थियो ।

यो कष्टसाध्य बाटोको बयान जति गर्दा पनि कम हुँदै जान्छ । र क्रान्ति अन्तिममा आएर सम्झौतामा टुंगिंदा दिल असाध्यै दुखेको आभाष पनि हुन्छ । संसदीय दलदलको बिरोध गर्ने र त्यहीँ आएर फँस्ने जस्तो विडम्बना अरु केही हुन सकेन । सर्वहारावर्गलाई ठूलो घात हुन पुग्यो ।

संसदीय प्रणालीलाई खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने अखडा भएको संज्ञा दिनु र अन्तिममा आएर त्यहीँ जाकिनु बहुत ठूलो विडम्बना मान्नुपर्छ । यसरी भावी पुस्ताले पनि नेपाली माटोमा फैलिएको जनयुद्धको अनुभूति गर्न पाउन । र जनयुद्धको मर्म कसरी पत्तासाफ भयो ? भन्ने शिक्षा लिन पाउन भन्ने उद्देश्यले यो संस्मरणात्मक अनुभूति पस्कन गईरहेको छु ।

केही समयअघि सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भाग बाँणेगाउँमा एउटा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । त्यतिबेला महान जनयुद्धको तेस्रो योजना आएको थियो । “महान सम्भावना र गम्भीर चुनौती” शिर्षकको दस्तावेज प्रस्तुत भएको थियो । त्यो प्रशिक्षणले मलाई निकै उद्वेलित बनायो । हुन त जनयुद्ध शुरु हुनु भन्दा अगाडि नै मेरो पार्टी सम्पर्क भएको थियो ।

म त्यतिबेला क्षमावती मा. वि. सुस्पामा पढ्थें । छुट्टिमा घरमा आउँदा रित बहादुर दाइसँग भेट हुन्थ्यो । (रित बहादुर खड्का जनयुद्धका एक उज्ज्वल तारा थिए । उनको जति बयान गरे पनि कम हुन्छ । र उनका योगदानहरूको बारेमा धेरै पटक उल्लेख गरिसकेको छु ।

उनीसँग बारम्बार क्रान्तिको बारेमा कुरा हुन्थ्यो । म त्यतिबेला बेला क्रान्तिको बारेमा निकै जिज्ञासु थिएँ । गुरिल्ला तालीम गरेर गुरिल्ला बन्ने ठूलो धोको थियो । उत्कट चाहना थियो । गुरिल्ला तालीम कस्तो होला ? भन्ने कौतुहलता जागृत भएको थियो ।

हुन त बुबाआमा २०३६ सालदेखि नै कम्युनिस्ट आन्दोलनको प्रभावमा पर्दै आउनु भएको थियो । बुबाआमा तत्कालीन ने.क.पा. (मा-ले) मा आबद्ध हुनुहुन्थ्यो । संगठित हुनुहुन्थ्यो । र २०४० सालको पिस्कर हत्याकाण्डपछि त झन घरमा बाक्लै रूपमा भूमिगत नेताहरू बस्थे ।

संगठन बनाउँथे । घरमा अमृत बोहरा, केशव बडाल, माधव पौडेल र मीरा थामीहरू धेरै वर्ष भूमिगत बसे । नेपाली क्रान्तिको बारेमा प्रशिक्षण दिए । हामीलाई पनि बाल सिपाही चाङ का ज, ल्यूलान, चाङ जुते को बारेमा धेरै पढाए ।

हाम्रो घर त्यतिबेलादेखि नै क्रान्तिको पाठशाला बनेको थियो । बुबाले बाह्रबिसेदेखि कोदो बोकेर भूमिगत पार्टीका नेताहरूलाई पाल्नुहुन्थ्यो । बुबाआमाको क्रान्तिप्रतिको समर्पण त्यतिबेलादेखि नै थियो । (बहुदल आएपछि ती नेताहरू सांसद, मन्त्री भए ।

तिनीहरूको जीवनशैली फेरियो । हामी जस्ताको तस्तै भयौं । उनीहरू कुनै दिन पनि हाम्रो घरमा फर्केर आएनन। र हाम्रो जीवनस्तर कहिल्यै पनि सुध्रिएन । सँधै अभावै अभावले पिरोलिरह्यो । हाम्रो जीवनस्तर झन् खस्किंदै गयो ।

भद्रावती खोलामा धेरै धेरै पानी बग्यो तर हाम्रो जिन्दगी जस्ताको तस्तै भयो ।) कसै कसैलाई यो कथा पनि लाग्न सक्ला । यो हाम्रो जिन्दगीको अविस्मरणीय राजनीतिक घुम्ती हो । हाम्रो परिवारले नेपाली क्रान्तिलाई दिएको योगदान हो।

यो पनि सजिलो र सहज अबस्य थिएन । तर यसको अनुभवले गर्दा पनि मलाई क्रान्तिमा लाग्न धेरै ठूलो प्रेरणा मिल्यो । जिन्दगीको एउटा महत्त्वपूर्ण कडीको रुपमा स्थापित भएर आयो । यो सामान्य अबस्था पक्कै पनि थिएन ।

यसरी कम्युनिस्ट इतिहासको रंगमन्चबाट हाम्रो परिवार गुज्रंदै आएको अबस्था थियो । र त हाम्रो परिवार एक हदसम्म बुझ्ने भईसकेको थियो । तर पनि विगतको भूतले बारम्बार तर्साउने गर्थ्यो । ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किंदा पनि तर्सन्छ ‘ भने झैं हत्तपत्त विश्वास चाहिँ लागेको थिएन ।

किनकि हामीले विगतमा पनि ठूलो धोका खाईसकेका थियौं । फेरि माओवादी नेताहरूको शैली पनि पहिला पहिला एमालेहरूले बोल्ने शैली जस्तै थियो । क्रान्तिको उही कुरा । पार्टीको उही कुरा । विचार सिद्धान्तको उही कुरा ।

तर फरक एउटा के थियो भने सेना निर्माण गर्ने कुरा । र विगतको जस्तो गद्दारी अवस्य हुँदैन भनेर आश्वास्त पार्न खोजेपछि मात्र केही विश्वास जागेको थियो । माओवादी नेताहरूले सत्ता कायापलट नै गर्ने कुराले खुब छोएको कारणले नै गुरिल्ला बन्न उत्प्रेरित गरेको थियो ।

माओवादी गुरिल्लाहरू बन्दुक बोकेर आउँदा मलाई पनि खुब रहर लाग्थ्यो । यदि देश शोषणको चंगुलबाट मुक्त हुन्छ ! र हामी जस्ता श्रमजीवीवर्ग पनि मुक्त हुन्छौं भने किन बन्दुक नबोक्ने ? भन्ने कुराले नै असाध्यै प्रभाव पारेको कारणले बन्दुक बोकेर हिंड्ने प्रण गरेको थिएँ ।

घरमा बारम्बार माओवादी छापामारहरू आउने । कार्यक्रम गर्ने । बन्दुक पड्काउने गतिविधिहरू भएपछि हाम्रो घर प्रशासनको पहिलो निशानामा परेको थियो । तर पनि हाम्रो परिवार राजनीतिक परिवार भएकोले स्थितिलाई सहजतामा ल्याउने कोशिश गर्थ्यौं । र हामीले गाउँलेहरूलाई पनि आश्वास्त पार्न खोज्थ्यौं । विस्तारै संगठन बनाउँथ्यौं । र भित्रभित्रै फौजी र प्राविधिक तयारीहरू पनि गर्थ्यौं । मलाई फेरि सानै उमेरदेखि भरुवा बन्दुक चलाउने बानी परेकोले पनि केही साहस थपिएको थियो ।

त्यसैले त विचार, सिद्धान्त र भौतिक कुराको संयोजन भएपछि क्रान्तिकारी उर्जा पैदा भएको थियो । यसरी मा. वि. तहको शिक्षा पूरा भएपछि कलेज लाईफमा अबस्य नै राजनीतिक प्रभावले घर गरेको हुन्थ्यो । यसरी क्रान्तिमा पूर्णकालिन भएर हिंड्ने भावभूमी तयार भएको थियो । जो अझै पनि बेस्सरी सम्झनामा गढेर बसेको छ ।

यसरी संगठनको काम गर्दै जाँदा मैले पनि अखिल (क्रान्तिकारी) जिल्ला संगठन समितिको सदस्य भएर काम गर्दै आएको थिएँ । यसरी म जुनसुकै जोड र कोणबाट पनि गुरिल्ला नै बन्न चाहन्थें । यो मेरो दृढ ईच्छाशक्ति थियो । युवा उमेरको महत्त्वपूर्ण निर्णय थियो ।

ऋतुचक्रहरू फेरिंदै जाने क्रममा २०५४ सालको वर्षा ऋतु सकिएर हेमन्त ऋतुको आगमन भयो । हिलोमैलोहरू हट्दै गयो । र नेपालीहरूको महान चाड दशैं पनि आयो । दशैंको फूलपातीको दिन हाम्रो घरमा माओवादी नेताहरू बन्दुक बोकेर आए । रित बहादुर खड्का (चम्किलो तारा), ध्रुव पराजुली (सन्तोष), दावा शेर्पा (प्रकाश) लगायतका साथीहरू आए । बारुद बनाउने, बन्दुक पड्काउने गरे ।

र गाउँस्तरीय प्रशिक्षण सकेर गए । त्यो प्रशिक्षणमा क्रान्तिमा बन्दुक बोकेर हिंड्न को ? तयार छ ? भनेर हात उठाउन लगाए । हामी चार जना डम्बर थामी (अनुपम), देबेन्द्र थामी (चिमाल), ठिल बहादुर थामी (गगन), ईन्द्र बहादुर थामी (सागर) हामी चार जनाले हात उठायौं । वहाँहरूले हामीलाई दशैं मानेर आउनु भनेर जुँगु रित बहादुर दाइको घरमा सम्पर्कमा आउनु भनेर जानुभयो । यसरी हामी २०५४ साल असोज २५ गते बुबा आमाको हातबाट टीका लगाएर क्रान्तिको बाटोमा समाहित भयौं ।

मेरो बुबा आमालाई यो अर्थमा सलाम गर्न चाहन्छु कि क्रान्तिमा निसंकोच टीका लगाएर मलाई पठाउनुभयो । यस्ता बुबा आमा इतिहासमा विरलै पाईएलान । आफ्नो छोरालाई क्रान्तिमा निसंकोच क्रान्तिमा पठाउन तयार हुनुभयो । दशैंको रमझम चलिरहेको बेला हामी चाहिँ झोला बोकेर नयाँ उत्साह र उमंगकासाथ आफ्नो गाउँ घर, पाखा, पखेरा खोलानाला, वन जंगलबाट बिदाई हुँदै तामाकोसी तरेर जुँगुतिर उकालो लाग्यौं ।

- क. डम्बर थामी (अनुपम)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार