संवेदनहीन ट्याक्स च्याट

अफिसमा काम गर्दा गर्दै
एउटा म्यासेज आइपुग्यो –
मिष्टर आशाराम!
तपाईंले यो वर्षको कर
४ लाख र केही चानचुन बुझाउनु भयो।

उसले धन्यवाद लेख्दै गर्दा
मैले भने- तपाईंको हिसाब गलत छ
यसको दोब्बर बढी बुझाएको हुनु पर्छ
चुल्हो जोर्दा,
लत्ताकपडामा,
सवारी साधनमा,
रोडमा गुड्दा,
रेष्टुराँमा,
भैंसी, बाख्रो बेच्दा,
मालपोतमा,
आदि आदि ..

उसले क्याल्कुलेटर दबाउदै गरेको इमोजी सेन्ड गर्‍यो
म कुरी बसेँ

कुल जम्मा निकाल्यो र भन्यो-
मिष्टर आशाराम!
करिब नौं लाख र त्यस्तै चानचुन हुन आयो

मैले भनेँ-
ट्याक्सको हिसाब मिलेन
अरू थुप्रै छुटे होला
साँच्चै झलुङ्गे पुल तरेको राख्नु भो?

म्यासेज टाइप गर्दै गरेको संकेत देखियो
विषयान्तर गर्दै लेख्यो –
सेभिङ होला नि?

मैले भनेँ-
तपाईंले पठाउने म्यासेज बाहेक
अरू सेभ छैन ।

उसले मुर्छा परेर हाँसेको स्टिकर सेन्ड गर्‍यो

`चार डलर´को खोप आइपुग्यो ? भनेर सोध्न नपाउदै
उ सम्पर्क बिहिन बन्यो।

उसले मलाई यसरी नै
अर्को वर्ष पनि
दिनेछ ट्याक्स डिटेल

दिनेछ-फाइजरको विज्ञापन।

म जस्ता `आशाराम´को
पानीपेटमा हिर्काएर
गरिरहनेछ-संवेदनहीन ट्याक्स च्याट ।

-ध्रुवतारा
खैरहनी-२, चितवन

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..