annapurna add

94385131 170104074240760 280170775531487232 nठ्याक्कै आजकै दिन, पाँच बर्ष अगाडि शनिवार मध्याह्न दिउँसोको पिकेट ड्युटिमा थिएँ काठमाडौको असाध्यै भिडभाड हुने दरवारमार्ग चोकमा । बिहान १० बजेबाट सुरुभई ड्युटिमा खटिएको म मध्यान्ह हुन पाउँदा नपाउँदै एक्कासि जमिन हल्लियो मुटु हल्लिने गरी। सडकमा गाडिको खासै चाप थिएन मानिसहरु एक्कासि चिच्याउँदै बाहिर निस्किए । सडकमा गडिरहेका मोटरसाइकलहरु पल्टिन थाले, वरिपरि धुलैधुलो देखिन थाल्यो, बस गाडिहरु ठाउँका ठाउँ रोकिन थाले, लाग्यो संसारमा बाँच्ने दिन आज अन्तिम रहेछ, घरमात्रै हल्लिरहेका थिएनन् मैले मेरो आँखा अगाडि देखिरहेको सिङगो संसार हल्लिरहेको थियो । मानिसहरु एकाएक कोहि भिडियो बनाउन लागे, कोहि घरतिर फोन गर्नलागे जस्ता देखिन्थे, म मेरै अगाडि एउटा रातो टिसर्ट लगाएको मान्छेले चलाएको बाईक पल्टिएपछि हतारहतार दौडदै उठाउन लागेँ, उठाएँ। सबैले घरमा फोन गरेको देखेँ अनि मैले नि सम्झेँ ओहो मेरो नि परिवार छ त,फोन हानेँ तर लागेन । सबैतिर सन्नाटा छायो र एकैछिनपछि सुन्न थालियो धरहरा नि ढल्यो अरे, मेरो मनको धरोहर अलिकति गिरिसकेको थियो ।

प्रहरी न पर्यौँ हामी अनि आत्तिदै अलि कमजोर घर भएका एरियातिर लागिहाल्यौँ, बाटोमा पुग्दा नपुग्दै एकजना दाई रगताम्मे टाउको लिएर हाम्रो छेउमा आइपुगे र रूँदै भन्न लागे उ त्यहाँ मेरी श्रीमती र छोरो फसेका छन भित्रपट्टि ,अलिकति भित्रपट्टि डराईडराई गई हेर्दा ईट्टाले खाईसकेको थियो उनिहरुको प्राण। दिउँसो ५ बजेतिर बल्ल सिन्धुपाल्चोक घरमा फोन लाग्यो, ठूलो बुवा रहनुभएनछ, परिवारको छानो खाएछ जगबाटै त्यहि भुईचालोले तै नि तिमीहरु केही नआत्ति बस भन्दै सम्झाएँ आत्तिरहेको मनले, निडर बनेझैँ गरी।

बेलुका ११ बज्दा सम्म भत्किएका घरबाट ईट्टा हटाउँदै घाईतेहरुलाई उद्दार गर्दै अस्पताल पुर्यायौँ। यता घरबाट मान्छेहरु खालि ठाउँमा सरेझैँ, अस्पताल पनि टेन्टमा सरेको थियो । जीवन र मृत्युको दोसाँधमा लडिरहेकाहरुलाई उठाउँदै अस्पताल पठायौँ । कतिका हात भाँचिएका, कतिलाई ईट्टाले थिचिरहेको थियो, कति का शरिर बाहिर र कम्मर मुनिको भाग पर्खाल र भित्ताभित्र थिए। नचाहेर पनि लासहरुलाई टेक्दै ज्युँदाहरूलाई उठाउन बाध्य थियौँ हामी। ती लासहरु एक एक गरि उठाउँदा लाग्थ्यो कि के गरेको होला दैवले पनि ।

बिस्तारै यहाँ मान्छेहरु टेन्टमा बस्न थाले खुल्ला ठाउँमा बसेका सबैले टेन्टमै रात बिताए। कति सहयोगि मनहरुले कपडा, खानेकुरा ल्याई सहयोग गरे। पराकम्पन आईरहेका थिए मानिसमा एउटा त्रास थियो मृत्युको , त्यहि त्रासका बिच हामीलाई तिम्रो सुरक्षा गर्नु थियो, तिम्रा घरहरुमा चोरी हुन्छ कि भनि बचाउनुथियो तिम्रो पसिनाको कमाई पनि, आफू नसुति नसुति बिताएका कैयौँ रातहरु अझै ताजा छन् हामीहरुमा । यसरी सारा सहर बाहिर पालमा जीवन गुजारीरहँदा लाग्थ्यो::

अर्कैखालको छुट्टै सृष्टि गरिदिउँला भनेर
अनि धर्तितिरै बसाइँ सरिदिउँला भनेर
हुनुपर्छ दैवले सबथोक लुटि लग्दिएको
फेरी भाग्य नयाँ चिजले भरिदिउँला भनेर।।

हामी प्रहरी, हाम्रो पनि परिवार थियो याद त आउँथ्यो तर जब जब हामी तिम्रा दुखहरु आँखै अगाडि देख्थ्यौँ, त्यसैमा डुब्थ्यौ र आफ्नो दुख बिर्सन्थ्यौ । त्यतिबेला हामी बाहिरै थियौँ, तिमीपनि बाहिरै थियौ, बाहिरै सुरक्षित थियौ तिमी, तिम्रो सुरक्षामा म जस्ता हजारौँ बाहिरै रातदिन खटिएका थियौँ र त्यसरी सुरक्षित रह्यौँ। एउटा दुखको घाउ बिस्तारै सञ्चो हुँदै गयो ।

घिनलाग्दो स्वार्थ : पार्टी फुटाए फलिफाप : मन्त्री, उपसभामुख र अख्तियारको ललिपप

तर अहिले समय फेरिएको छ तर पनि हामी फेरिएका छैनौँ उस्तै नै छौँ जस्ता हामी भुकम्पकाबेला थियौँ। आज फेरि एउटा माहासंकट हाम्रा सामु छ, कोरोनाले संसारभर १ लाख ५० हजारबढिले ज्यान गुमाईसक्दा पनि हामीले एउटा पनि त्यस्तो दुखत खबर सुन्नु परेको छैन र सुन्नु पनि नपरोस कहिल्यै। आज पनि हामिलाई हाम्रो परिवारको उत्तिकै चिन्ता लाग्छ, कसरी बसिरहेका होलान, खान पाए कि पाएनन् कि यता हामी जस्तै दुख पाईरहेका छन कि ।आफ्ना हजार चिन्तालाई तिम्रो सुरक्षासँग दाँज्न कहिल्यै सक्दिन म, आफूलाई रोग लाग्ने देख्दादेख्दै पनि तिमीलाई निरोगि बनाउन हामी बाहिर बाटोमै खटिएका छौँ।

लकडाउनमा तिमीलाई दुख दिनु हाम्रो नियत कदापि हुँदैन, तिमी बाटोमा आएर घर जान पैदल हिड्न तम्तयार हुन्छौ ,तिमी परिवारबाट टाढा रहु म कदापि चाहन्न । यि दृश्यहरूले हामीलाई पनि पगाल्छ घरिघरि तर आफैँ बुझ त म पग्लिएँ भने तिमी रोगी हुनुपर्छ,तिम्रो सुरक्षाको लागि बनेको म तिमी रोगी भएको कहिल्यै देख्न सक्दिन । आज तिमी भित्र छौ आफ्नो सुरक्षाकालागि तर यता हामी तिम्रै सुरक्षाकालागि बाहिरिएका छौँ। के भुकम्प , के विपद, के बाढि ,के लकडाउन हामी बाहिरौँ छौँ । जसरी पाँच वर्षअघिको बैशाखमा तिमी बाहिर बसेर सहयोग गर्यौ अब केही समय तिमी घरभित्र बसेर सहयोग गरिदेउ न।

(लेखक मरासिनी प्रहरी हुन् !)

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर