यो तिम्रो मनको गीत र मेरो मनको गीत

 यो तिम्रो मनको गीत र मेरो मनको गीत 
साथी गाऊँ सँगसँगै !
त्यो तिमी पुग्ने ठाउँ र म नि पुग्ने ठाउँ 
साथी जाऊँ सँगसँगै !!
एक्लै यो गीत मिठो हुँदैन एक्लै त्यहाँ 
जानै सकिन्न !
गाऊँ सँगसँगै ए साथी जाऊँ सँगसँगै !
यो तिम्रो मनको गीत………!

हेर त यो जीवन जीवनजस्तो छैन 
बल गरेर हाँसे पनै हाँसेजस्तो छैन 
हाँसो कैदी छ साथी खुसी कैदी छ 
आज हाम्रो जिन्दगी नरकजस्तो छ 

त्यो जिन्दगीको गीत त्यो भविष्यको गीत 
गाऊँ सँगसँगै !
त्यो समानताको प्रीत त्यो उन्मुक्तिको प्रीत
लाऊँ सँगसँगै !
यो तिम्रो मनको गीत…….!

एउटै हो संघर्ष नै भोकाहरूको भाषा
एउटै हो समानता भविष्यको आशा 
एउटै हौं धर्तीभरका भोका नाङ्गा जाति
धावा वोलौं शोषण दमन भेदभावमाथि

त्यो विद्रोहको गीत त्यो हेरफेरको गीत
गाऊँ सँगसँगै !
नजितुन्जेल संसार नढलुन्जेल जिन्दगी
जाऊँ सँगसँगै !
त्यो तिम्रो मनको गीत……

२०७३|११|९

लेखक सम्पर्क : बलराम तिमिल्सिना

Kantipath Media

यो छुट्टाउनु भो कि..