पल शाह आफैमा ब्राण्ड हुन् : लहडमा उपाधी बाड्दै हिड्ने प्रकाश सुवेदी को हुन् ?

नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्तर्गत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो । महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । यही अभियान अन्तर्गत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको हो । उनलाई ७ केजीको माला र सम्मान पत्रबाट सम्मानित गरिएको छ । शाहलाई दिईएको सम्मान पत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सेलिब्रिटीलाई विवादमा ल्याउन खप्पिस पत्रकार प्रकाश सुबेदीको हस्ताक्षर रहेको छ ।

पल शाह आफैमा समाजसेवा क्षेत्रमा ओजपूर्ण कद भएका कलाकार हुन् । तर सुवेदी लगायतले दिएको उपाधीबाट निकट भविष्यमा नै उनले विवादको सामना गर्नु पर्ने देखिन्छ, जसरी अहिले राजेश हमाललाई ‘महानायक’ उपाधी घाडो भएको छ । राजेशलाई ‘महानायक’ एक ब्यक्तिले एक कार्यक्रममार्फत दिएका हुन् । सबैले महानायक भन्नुपर्छ भन्ने जरुरी त छैन । पब्लिकले त्यो रुपमा लिएका छन् कि छैनन् भन्ने महत्वपुर्ण पक्ष हो ।

न कुनै प्रष्ट मापदण्ड, न कुनै प्रक्रिया, एक्कासी कसैले ‘महानायक’ उपाधि जोडिदिएको भरमा कसैलाई कसरी ‘महानायक’ भनेर मान्न सकिन्छ भन्ने प्रश्न पछिल्लो समय नेपाली कलाक्षेत्रमा खडा भएको थियो । अहिले नायक पल शाहका फ्यानले पनि पल आफैमा सक्षम कलाकार हुन्, लहडमा उपाधी बाड्दै हिड्ने प्रकाश सुवेदी को हुन् भन्दै प्रश्न उठाएका छन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले प्रकाश सुवेदी कै टेलिभिजन कार्यक्रममा ‘राजेश हमाल महानायक हो र ?’ भन्ने प्रश्न उठाएपछि सामाजिक संजालमा यो विषयले चर्चा–परिचर्चा पाएको थियो । उनी सुवेदी कै कारण यति विवादमा तानिईन कि उनले माफी नै माग्नु पर्यो । निरौलाले के आधारमा राजेश हमाल ‘महानायक’ भए भन्ने आशयको प्रश्न खडा गरिन् । राजेशको विषयमा प्रश्न उठाएकै कारण उनले निकै चर्काे आलोचना खेप्नु प-यो ।

राज्यस्तरबाट वा चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डबाट यस्तो सम्मान दिइएको भए अकाट्य हुन्थ्यो । लहडमा धेरै उपाधि दिने चलन चलेको छ । पहिले पहिले राजा, राज्यबाट पदवी दिने चलन थियो । त्यो सबैलाई मान्य हुन्थ्यो । अहिले जो कोहीले पनि उपाधि दिने भएकोले त्यसलाई मान्यता दिने÷नदिने, आफुले त्यो उपाधिमा गर्व गर्ने÷नगर्ने, ब्यक्तिको बिचारमा भर पर्ने कुरो हो ।

अरुलाई उचाल्ने र पछार्ने गर्दै आएका सुवेदीका दुई कार्यक्रम (रजतपट र ग्ल्यामर गफ) नायिका शिल्पा पोखरेलको उजुरीका आधारमा निलम्बन मै परेका थिए । उनै सुवेदीले नानाथरी भनेपछि नायिका स्वस्थिमा खड्काले उनको कार्यक्रममा कहिल्यै नजाने घोषणा नै गरिन । केही समययता रंग पत्रकार प्रकाश सुवेदी नेपाली चलचित्रकर्मीमाझ ‘आतंक’ का पर्याय बन्दै आएका छन् । राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममार्फत सिलसिलेवाररूपमा एकपछि अर्का कलाकारलाई बदनाम गर्न खोजेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

कार्यक्रममार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै नायिका शिल्पा पोखरेलले टेलिभिजनमा उजुरी गरेकी थिइन् । केही समयअघि नायिका पूजा शर्माले पनि आफ्नो विषयमा गरेको भद्दा टिप्पणीलाई लिएर उजुरी गरेकी थिइन् । त्यसबेला सुवेदी माफी मागेर उम्केका थिए । त्यसो त सुवेदी पहिल्यैदेखि विवादित छविका पत्रकार हुन् । कलाकारहरूलाई कन्ट्रोभर्सीमा पारेर भ्यूज बटुल्ने शैलीले उनलाई दिग्गज पत्रकारबाट ‘भाइरल यूट्युवर’ को स्तरमा झारिदिएको छ । नायिका निरुता सिंहले उनीसँग झगडै गरेकी थिइन् । ‘राजेश हमाल महानायक हुन् र ?’ भन्ने अभिव्यक्तिले दिपाश्रीलाई चरम विवादमा पार्यो । राजेश हमालका फ्यानहरुबाट उनी चर्को गालीगलौजको शिकार बनिन् ।

नायिका स्वस्तिमा खड्कामाथि पनि सुबेदीले छुद्र टिप्पणी गरेका थिए । स्वस्तिमाले सामाजिक सञ्जालमा हालेको श्रीमानसँगको एउटा तस्वीरलाई लिएर उनले टेलिभिजनबाटै भनेका थिए, ‘काम साम छैन, बुढो बोक्यो हिँड्यो ।’ प्रकाशलाई अन्तर्वार्ता दिएर नायिका पूजा शर्मा पनि कन्ट्रोभर्सीमा परिन् । उनलाई सुवेदीले कार्यक्रममा अन्तर्वार्ताका लागि बोलाएर सामान्य ज्ञानका प्रश्न सोधेका थिए, जसमा उनी कमजोर थिइन् । सहज प्रश्नको पनि जवाफ दिन नसकेपछि पूजा निकै ट्रोल भइन् । प्रकाश भने हौसिदै गए ।

पछि उनै पूजामाथि सुवेदीले टेलिभिजन कार्यक्रममै भद्दा टिप्पणी गरे । पूजालाई लक्षित गर्दै उनले कार्यक्रममा बोलेका थिए, ‘यत्रा-यत्रा दाह्रा निस्केकाहरूलाई हामीले महानायिका बनाइदिनुपर्ने !’ उक्त टिप्पणी भने सुवेदीका लागि निकै महंगो सावित भयो । धेरै कलाकारहरूले खुलेर उनको विरोध गरे । पूजाले धेरै ठाउँ उजुरी गरिन् । सुबेदीले टेलिभिजनबाटै माफी माग्न बाध्य भए । शिल्पाले एक विवाहित व्यक्तिसँग अफेयर चलाएर उनको घर बिगारेको आरोप उनले लगाएका थिए । सो आरोपको शिल्पा र अन्य सम्वन्धित व्यक्तिहरूले खण्डन गरेका छन् ।

सुवेदीले शिल्पा र उनका पूर्वपति छवि ओझा बीचको विवादलाई पनि अहिले निकै उछालेका छन् । उनीहरूको डिभोर्स सम्वन्धी अदालतमा विचाराधीन मुद्दालाई प्रभावित तुल्याउने गरी एकतर्फी रिपोर्टहरू उनले प्रसारण गरेपछि टेलिभिजनले चेतावनी दिएको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..